October 22, 2026

विश्वकप क्रिकेट लीग २: एकदिवसीय क्रिकेटमा विश्व कीर्तिमान बनाउँदै नेपालले अमेरिकालाई हरायो

0

काठमाण्डौं ।

नेपालले नयाँ कीर्तिमान कायम गरेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकालाई आठ विकेटले पराजित गरेको छ।

अमेरिकालाई ३५ रनमा अलआउट गर्दै विश्व कीर्तिमान बराबर गरेको नेपालले विजय लक्ष्य १० ओभरमा दुई विकेट गुमाएर हात पार्‍यो। विजयका लागि पूर्वकप्तान पारस खड्का २० रनमा र उपकप्तान दीपेन्द्रसिंह ऐरीले १५ रनमा नटआउट रहे।

कप्तान ज्ञानेन्द्र मल्ल एकमा र सुवास खकुरेल शून्यमा आउट भएका थिए।

नेपालको कीर्तिमान

स्पिनर सन्दीप लामिछानेले छ र सुसन भारीले चार विकेट लिएपछि कीर्तिपुर मैदानमा आयोजित विश्वकप क्रिकेट लीग २ को अन्तिम खेलमा अमेरिका न्यूनतम रनमा समेटिएको थियो। श्रीलङ्काले सन् २००४ मा जिम्बाब्वेलाई ३५ रनमा सीमित पारेर बनाएको कीर्तिमानको नेपालले बराबरी गरेको हो।

तर जिम्बाब्वेले १८ ओभर खेलेको थियो भने अमेरिकाले १२ ओभर मात्रै खेल्यो। यो सबैभन्दा कम बलमा विपक्षी टोलीलाई आउट गरेको नयाँ कीर्तिमान हो। यसअघि यो कीर्तिमान अफगानिस्तानले सन् २०१७ मा जिम्बाब्वेलाई १३.५ ओभरमा ५४ रनमा अलआउट गरेर बनाएको थियो।

सन्दीप लामिछानेको उत्कृष्ट बलिङ

लामिछानेले छ ओभर बलिङ गर्दै १६ रन दिएर छ विकेट लिए। यो नेपाली खेलाडीको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा राम्रो बलिङ हो।

भारीले तीन ओभरमा पाँच रन दिँदै चार विकेट लिए जुन नेपाली खेलाडीको तेस्रो राम्रो बलिङ हो। अमेरिकाका लागि ओपनर जाभियर मार्शलले १६ रन बनाए भने अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

यसअघि भएको अर्को खेलमा पनि नेपालले अमेरिकालाई हराएको थियो। तर ओमानसँग भएका दुवै खेलमा पराजित भएको थियो।-बीबीसी नेपालीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *