भाग्य चम्किन्छ भन्दै किशोरी लैजाँदा…
झापा।
मानव तस्करले नयाँ–नयाँ उपाय अपनाउँदै चेलीबेटी बेचबिखान गर्ने गरेको रहस्य खुलेको छ । एक करोड रुपैयाँ आम्दानी हुन्छ भन्दै एक किशोरीलाई चितवन लैजान खोज्ने दुई जना पक्राउ परेसँगै यस्तो रहस्य खुलेको हो ।
गोरखाको सिरानचोक गाउँपालिक–७को तल्लो गोहोरेका ७१ वर्षीय भीमप्रसाद ढकाल र ३९ वर्षीय रामबाबु दूतराज (विक) लाई प्रहरीले युवती लैजान खोजेको अभियोगमा पक्राउ गरेको छ ।
उनीहरुले त्यही ठाउँमा बस्ने १७ वर्षीया किशोरीलाई ‘एक करोड रुपैयाँ कमाइ हुन्छ’ भन्दै माघ २४ गते शुक्रबार चितवन लैजान खोजेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले बताए ।
‘हामीलाई साढे ५ फिट उचाइ भएको मान्छे चाहिएको हो भन्दै उनीहरुले माघ २३ गते युवतीको शरीर नापेछन्, हामीले खोजे जस्तो मान्छे तिमी नै हो भनेर भिडियो पनि खिचेका रहेछन्’– खतिवडाले भने– ‘चितवनसम्म जाऔँ, एक करोड रुपैयाँ आउँछ, भाग्य चम्किन्छ, आधा–आधा पैसा बाडौँला भनेर उनलाई फकाएका रहेछन् ।’
गएको २४ गते चितवन जान घरबाट हिँडेकी किशोरीलाई उनीहरुको क्रियाकलापबारे शङ्का लागेपछि भागेर आमालाई जानकारी गराएकी थिइन् । युवतीका आफन्तमार्फत प्रहरीमा खबर आएको डीएसपी खतिवडाले जानकारी दिए ।
गाउँमै सिकर्मीको काम गर्ने ७१ वर्षीय भीमप्रसाद र ३९ वर्षीय रामबाबुलाई किशोरीकी आमाले दिएको जाहेरीका आधारमा माघ २४ गते पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार ऐनअनुसार मुद्दा चलाइएको खतिवडाले बताए ।
