September 20, 2026

ओरियन्सका नाममा ठग्ने १७ जनाविरुद्ध मुद्दा

0

बिर्तामोड।
नेपालमा अबैध मानिएको नेटवर्किङ व्यवसाय सञ्चालन गरेको अभियोगमा प्रहरीले तीन महिला सहित १७ जनालाई पक्राउ गर्दै मुद्दा दर्ता गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीहरु विरुद्ध आठ वटा मुद्दा दर्ता भएका छन् । पक्राउ परेका व्यक्तिको नाम भने खुलाइएको छैन ।

ओरियन्स नेटवर्किङ कम्पनीका नाममा झापाका विभिन्न व्यक्तिलाई ठगी गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

औषधि विक्रीको नाममा सर्वसाधारणसँग विभिन्न वहानामा ठगी गरेको भन्दै उनीहरुविरुद्ध मुद्दा दर्ता भएको हो । आफूहरुले सदस्य विस्तार गरेवापत बोनस पाउने भन्दै उनीहरुले गाउँ–गाउँमा गएर सर्वसाधारणलाई ठगी गर्दै आएको प्रहरीले जनाएको छ ।

जटिल प्रकृतिका रोग निको हुने भन्दै आयुर्वेद औषधि दिएर सदस्यता विस्तारको नाममा सात हजार रुपैयाँ देखि १७ हजार रुपैयाँ बुझाएपछि पिरामिड शैलीमा त्यसको सञ्जाल विस्तार गरी उनीहरुले ठगी गर्ने गरेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय धुलावारीबाट मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *