September 20, 2026

हात्तीपाइलेको औषधि माघ २५ देखि

0

बिर्तामोड।

हात्तीपाइले रोग निवारणका लागि आगामी माघ २५ गतेदेखि फागुन ५ गतेसम्म झापाका आठ लाख २६ हजार ५ जनालाई हात्तीपाइले बिरुद्धको औषधि खुवाइने भएको छ ।

बिर्तामोड नगरपालिकाले बुधवार आयोजना गरेको हात्तीपाईले रोगविरुद्धको आम औषधि सेवन अभियान अन्तर्गत नगरपालिकास्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठीमा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जीवन चम्लागाँईले यस्तो जानकारी दिएका हुन् ।

औषधि खुवाउनका लागि जिल्लाभर ६ सय ३१ जना स्वास्थ्य स्वयम्सेविका, चार सय १६ जना स्वास्थ्यकर्मी परिचालन गरिने कार्यक्रममा जानकारी दिइयो । ९ लाख २० हजार ८ सय ९५ जनसंख्या मध्ये ७० वर्ष भन्दा माथिका, २ वर्षभन्दा मुनिका र गर्भवती महिला तथा सात दिने सुत्केरीले यो औषधि सेवन नगर्ने चम्लागाँईले बताए । त्यस्ता व्यक्ति झापामा एक लाख १८ हजार २ सय ९० जना रहेको कार्यक्रममा जानकारी दिइयो ।

गोष्ठीको उद्घाटन गर्दै बिर्तामोड नगरपालिका प्रमुख धु्रवकुमार शिवाकोटीले नगर क्षेत्रका सबै नागरिकलाई स्वास्थ्य राख्न औषधि अनिवार्य सेवन गरिदिन आग्रह गरे । कार्यक्रममा बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाई, नेपाल चिकित्सक संघ झापाका अध्यक्ष सीपी यादव, बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तुलसी पोखरेल लगायतले बोलेका थिए ।

कार्यक्रमको सञ्चालन नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी ओम खड्काले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *