September 20, 2026

सहिद दिवस औपचारिकतामा सीमित नबनोस्

0

नरेन्द्र ढकाल

‘हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपुत मरेर नगए’

यो साहित्यकार भूपी शेरचनको कविताको हरफहरुले साँच्चै शहीदहरुको सम्मान गरेको छ । अनि परिर्वतनको बिगुल फुकेको छ । तर, यहाँ सबै गरिब दुःखीहरूका सपुत मात्र छन । कुनै पनि नेताहरूका सपुत अवश्य पनि छैन होला यो लिष्टमा जसले आगो सल्कायो त्यो पर बसेर आगो ताप्तै छ, जलेर मर्ने त अरू नै छन यहाँ उनैलाई आज माघ १६ गते शहीद दिवस भनेर सम्झिने प्रयत्न गरिँदैछ ।

राष्ट्र र जनताको हितका लागि आफ्नो प्राणको आहुती दिने व्यक्तिलाई शहीद भनिन्छ भन्ने सबैलाई थाहा छ । तर, पछिल्लो समय नेपालमा शहीद जस्तो सम्मानजनक पदावलीलाई निकै सस्तो बनाइँदै लगिएको छ । आफ्नो जीवनलाई राष्ट्र वा राष्ट्रिय संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निमित्त बलिदान गर्नेहरुलाई शहीद मानिने भए पनि पछिल्लो समय नेपालमा यस्ता शहीद नभई दुर्घटना, अपराधिक घटना, द्वन्द्वमा मारिएका व्यक्तिलाई पनि शहीद घोषणा गरेर असली शहीदको अपमान गरिएको छ । प्रत्येक वर्ष शहीद दिवस आउँछ । सरकारले माघ १६ लाई शहीद दिवसका रुपमा मान्दै यस दिनलाई शहीदका गाथा सुनाउने दिनको रुपमा प्रयोग गर्दछ । यस वर्ष पनि सदा झैं शहीद दिवस आयो ।

सरकारले शहीद दिवस वा शहीद सप्ताह माघ १० देखि १६ सम्म औपचारिक रुपमा मनायो । तर, शहीदको लागि भने कुनै सम्मान दिन सकेन सरकारले । यो औपचारिकताले मात्रै कदापि पनि शहीद सप्ताहको सार्थकता हासिल हुन सक्दैन । हार्दिक मनको उपस्थितिले मात्रै पुनित कार्य सम्पन्न हुन सक्छ । वर्तमान सरकार दुई तिहाईको रहेको छ । अहिलेसम्मकै शक्तिशाली सरकारको रुपमा रहेको केपी ओली नेतृत्वको सरकारले सहिदको सम्मान हुने खालको कुनैपनि काम गर्न सकेको छैन् । सहिद सप्ताहलाई यो सरकारलेसमेत औपचारिकतामा मात्रै सिमित बनाएको छ ।

शहीदको अमरत्वले अहिलेसम्म अलिकति पनि सान्त्वना पाउन नसकिरहेको बेला सरकारले औपचारिकता निभाउने बाहेक कुनै त्यस्तै नौलो काम गर्न सकेको छैन । शहीदको मूल्य र महत्वलाई सरकार अनि नेपाली नागरिकहरुले अझै पनि महशुस गर्न र बुझ्न सकिरहेका छैनन् । शहीदको योगदानलाई मूल्याङ्कन गर्न समेत सरकारले कुनै चासो देखाउने चेष्टा पनि गरेको छैन । बरु उल्टै सरकार त विश्वको रेकर्डमा सबैभन्दा बढी शहीद भएको देश बनाउन तल्लीन भएको छ । सायदै यस्तो देश कुनै छैन होला ? नेपालका कति शहीद छन् भनेर कसैले सोधेमा उत्तर कसैले दिन सक्ने अवस्था छैन कारण दैनिक शहीदको संख्यामा बृद्धि भइरहन्छ ।


देश र जनताको प्रगति र भलाइको लागि आजाव उठाउँदा संघर्ष गर्दा मर्नेलाई मात्र राज्यले शहीदको कोटीमा राख्नुपर्छ, मरिन्छ भन्ने थाहा हुँदाहुँदै पनि आफ्नो जीवनको बलिदान दिन समेत तयार हुने व्यक्ति नै शहीद कहलिन्छ । जो व्यक्ति संघर्षको क्रममा मर्छन् ती नै वास्ताविक अर्थमा शहीद हुन् । देश र समाजको हितमा प्रयत्न वा संघर्ष अवस्थामा सचेत बलिदान नै सहादत हो । गंगालाल, शुक्रराज, धर्मभक्त अनि दशरथ चन्दहरु पनि राणाकै निरंकुशतन्त्रको विरोध गर्दा मारिए । उनीहरुलाई राणा शासकविरुद्ध आवाज उठाउँदा संघर्ष गर्दा जेल पर्न र मर्न सकिन्छ भन्ने हेक्का थियो । तर, उनीहरुले त्यसो गर्न अनकनाएनन् । उनीहरुले क्षमा मागेर मृत्युबाट मुक्ति पाउन सक्थे । तर, मागेनन् । न्यायकको पक्षमा सामाजिक हितका लागि उनीहरुको अडान कायम थियो । त्यसैले त उनीहरु देशका लागि शहीद कहलिए । उनीहरु नै वास्तविक अर्थमा शहीद हुन् । उनीहरु जस्तै सामाजिक हित वा रुपान्तरको लागि सचेत रुपमा जीवनको आहुती दिने सबै मानिस शहीद हुन् । तर, पछिल्लो सयमा शहीदको धज्जी उडाइएको छ ।

साँच्चै शहीदका सपना विपना बनाउने साहस छ भने नेपालका ठूला दलले आत्मनिरीक्षण, आत्मपरीक्षण र आत्मशोधन गर्ने हिम्मत गर्नुप¥यो । केवल बतासे गफ, चमेरे चरित्र र छेपारे रङ देखाउने नौटंकीको रुपमा देखाउनु हुन्न । मुलुकमा प्रजातन्त्र ल्याउन शहीदले जीवन उत्सर्ग गरे । तर, अहिले लोकतन्त्र हुँदै गणतन्त्र आइसक्यो, जनतामा निराशा बढ्दो छ, राजनीतिक दलले शहीद उपमालाई गलत व्याख्या गरेर पार्टीपिच्छे शहीद घोषणाले उनीहरूको अपमान भइरहेको छ । दलका नेताले आफ्नो जीवनशैली अनि रवाफ फेरे तर जनता हिजो राणा शासन र आजको गणतन्त्रमा खासै विभिन्नता देख्दैनन् । अनि शहीदले कसका लागि बलिदानी दिए भन्ने विषय एकपटक गहिरीएर सोच्ने बेला आएको छ ।

आज मानिसमा निरासा ब्याप्य हुँदै गएको छ । यस्तो अवस्थामा हिजो क्रान्तिका चर्का नारा लगाउनेहरु जब सत्ता र शक्तिमा पुग्छन् उनीहरु भ्रष्ट्राचारमा चुर्लुम्म डुबेका छन् । हिजो देशका निमित्त रगत र पसिना बगाउनेहरुको अवस्था आज पनि उस्तै छ । शहीदको शालिकमा माला र अविर लगाएर दुईचार वटा क्रान्तिकारी भाषण गर्दैमा शहीदको सम्मान हुँदैन । त्यसैले राजनीतिक दलहरुले बेलैमा सोच्न जरुरी रहेको छ । अब मुलुकको समृद्धि र विकास चाहने हो भने शहीदले देखाएको बाटो र शहीदको सपना साकार पार्नतर्फ एकजुट हुन जरुरी रहेको छ । शहीदको सपना पूरा गर्न ओली, दाहाल र देउवा मिलेर मात्र हुन्न समग्र नेपालीहरुलाई एकताबद्ध बनाएर दलगत स्वार्थभन्दा माथि उठाएर शहीदको सम्मान गर्दै उनीहरुको पथमा अगाडि बढ्न जरुरी रहेको छ तब मात्र शहीद दिवसले सार्थकता प्राप्त गर्नेछ । नत्र कर्मकाण्डी मात्र बन्ने छ हरेक वर्षका शहीद दिवसहरु । यो वर्ष शहीदको शालिकमा माल्यार्पणमा नै शहीद दिवस सिमित भए पनि आगामी वर्षबाट शहीदले सच्चा सम्मान र उनीहरुको पथमा देशले फड्को मार्दै देशले समृद्धिको यात्रा तय गरोस् शुभकामना ।

राजनीतिक स्वार्थ पुरा गर्ने बेला सहिदका महान गाथा गाँउनेहरुले सहिद दिवसमा नै सहिदको योगदान र उनीहरुको त्यागलाई भूल्ने हो भने पक्कै पनि मुलुकको समृद्धि सम्भव छैन् त्यसैले सहिद दिवस औपचारिकतामा सिमित नहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *