September 20, 2026

नागरिकतासम्बन्धी कानून तत्काल बनाउन माग

0

काठमाडौँ, 

नेपाली नागरिक भएर पनि नागरिकताबाट वञ्चित भएकाले तत्काल नागरिकतासम्बन्धी कानून बनाउन माग गरेका छन् ।

आमाको वंशजको नागरिकता भए पनि नागरिकतासम्बन्धी आवश्यक कानून अभावमा आमाको पहिचानबाट नागरिकता लिन नपाएको उहाँहरुको गुनासो छ । महिला, कानून र विकास मञ्चले आज यहाँ आयोजना गरेको ‘नागरिकताबाट वञ्चित व्यक्ति र सांसदसँगको छलफल’ कार्यक्रमका वक्ताले संसद्मा विचाराधीन नागरिकतासम्बन्धी विधेयक सङ्घीय संसद्को आगामी हिउँदे अधिवेशनबाट पारित हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिसभा, कानून, न्याय तथा मानवाधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले समाजमा अझै पनि पितृसत्तात्मक सोच र मानसिकता कायमै रहेकाले आमाको नामबाट नागरिकता लिन सर्वाेच्च अदालत धाउनुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले नागरिकतासम्बन्धी विधेयकमा भएका असहमतिलाई संसद्को पूर्ण बैठकमा छलफल गरेर भए पनि आगामी अधिवेशनबाट पारित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सङ्घीय सांसद विन्दा पाण्डेले ‘बहसमा वंशीय पहिचान र राज्यविहीनता’सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै नेपालमा नागरिकताप्राप्ति सम्बन्धमा भएका कानूनी व्यवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले नागरिकताबाट वञ्चित नेपाली नागरिकको विषय महिला वा पुरुषको सवालभन्दा पनि नागरिक राज्यविहीन हुनु हुँदैन भन्ने विषयसँग सम्बन्धित रहेको बताउनुभयो ।

मञ्चका अध्यक्ष मीरा दुङ्गानाले आवश्यक कानूनको अभावमा आमाले आफ्नो नामबाट नागरिकता दिन चुनौती बनेको बताउँदै नागरिकता नभएका व्यक्तिले राज्यका हरेक अधिकारबाट समेत वञ्चित हुनुपरेको उल्लेख गर्नुभयो । कार्यक्रममा सुकमाया लामा, शिवराम परियार, अर्जुुन साह, मोहम्मद इस्लाम, सुमन भुसाल, सुरज हजारे लगायतले आफूहरु नेपाली नागरिक भएर पनि नागरिकताबाट वञ्चित हुँदाको पीडा सुनाउँदै समस्या समाधानका लागि तत्काल नागरिकतासम्बन्धी कानून बन्नुपर्ने माग गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *