September 21, 2026

भारतको नक्साप्रति पत्रकार महासंघको आपत्ति

0

झापा।

नेपालको भू–भाग लिपुलेक, कालापानी क्षेत्रलाई हालै भारतद्वारा जारी उसको आधिकारिक नक्सामा गाभेर प्रकाशन गरेको विषयमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

महासंघले शनिवार सातौं पूर्ण बैठकको निर्णयहरु घोषणा पत्र मार्फत सार्वजनिक गर्दै यस्तो जनाएको हो । यस विषयमा नेपाल सरकारले कुटनीतिक माध्यमद्वारा सो नक्सा संशोधन गराउनेतर्फ पहल गर्न र देशका अन्य क्षेत्रमा रहेका सीमा समस्या तथा विवादहरुलाई राष्ट्रको स्वाधीनता र सार्वभौमिकता कायम हुनेगरी समाधान गर्न समेत महासंघले जोडदार माग गरेको छ ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतले भर्खरै सार्वजनिक गरेको नयाँ नक्साको तस्वीर झापामा जलाइएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवाहरुको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल भद्रपुरले सीमावर्ती नाकामा पर्ने भद्रपुर–५स्थित मेची पुलमा प्रधानमन्त्री मोदी र भारतीय नक्साको पोष्टर जलाइएको हो ।

भारतको नयाँ नक्साभित्र नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेको भन्दै देशभरमा बिरोध प्रदर्शन भइरहेका बेला युवा संघले पनि बिरोधसभाको आयोजना गरेको नगर अध्यक्ष डिल्ली पोखरेलले जानकारी दिए ।

भारतको विहार तथा बंगाल सीमासँग जोडिएको भद्रपुरको मेची पुलमा नेकपाका कार्यकर्ताहरुले भारतीय विस्तारबाद मुर्दाबाद, भारतीय प्रधानमन्त्री मुर्दाबाद, नेपाली भूमि मिच्न पाइँदैन, गो ब्याक इण्डिया भन्दै करिब आधा घण्टा नाराबाजी गरेका थिए । भद्रपुर भन्सार अगाडिबाट निस्किएको बिरोध र्याली मेचीपुल चढ्ने दशगजा क्षेत्रमा गएर नेकपाका कार्यकर्ताहरुले विरोध प्रदर्शन गर्दै कोण सभा गरेका थिए ।

कोणसभामा बोल्दै नेकपा झापाका जिल्ला सदस्य तथा भद्रपुर इञ्चार्ज असारु राजवंशीले भारतीय विस्तारबादले नेपाली भूमि मिचेकोले यसलाई फिर्ता गराउन युवाहरु सडकमा उत्रिएको भन्दै भारतीय सरकारले नेपाली भूमि फिर्ता नगरे झापाबाटै आन्दोलन चर्काउने चेतावनीे दिए ।

त्यस्तै नेकपाका जिल्ला सदस्य तथा भद्रपुर सह–इञ्चार्ज नरेश सञ्जेलले नेपाली भूमिको रक्षा गर्न देशका युवाहरु तयार रहेको बताए । उनले सरकार र सीमामा तैनाथ नेपाली सुरक्षाकर्मीले नेपाली भूमि बचाउन नसके युवाहरु नै सीमा रक्षामा उत्रिन बाध्य हुने बताए । कार्यक्रममा नेकपाका दीपक अग्रवाल, निकास पाण्डले लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *