September 30, 2026

महराको थुनछेक बहस सकियो, रोशनी पनि इजलासमा

0

काठमाडौं,

संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको थुनछेक बहस सकिएको छ।

आइतवारदेखि महराको पक्षका वकिलहरुले बहस गरेका थिए। सोमबार महराको पक्षमा वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा, सविता भण्डारी बराल, शेरबहादुर केसी र रमनकुमार श्रेष्ठले बहस गरेका हुन्।

महराको पक्षमा करिब ३० जना वकिलले वकालतनामा पेश गरेकोमा आइतवार र सोमबार ६ जना वकिलले बहस गरे। महराको पक्षका ६ जना वकिलले बहस गरिसकेपछि सरकारी वकिलले पनि प्रत्युत्तर दिइसकेका छन्।

बहस भइरहँदा पीडित भनिएकी रोशनी शाही पनि इजलासमा पुगेकी छन्। आफ्ना कुरा राख्न भन्दै इजलासमा प्रवेश गरेकी उनलाई न्यायाधीशले बोल्ने अनुमति भने दिएनन्। अब जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासबाट यो मुद्दामा आदेशको प्रतीक्षा गरिएको छ।

महराविरुद्ध बलात्कार आरोप लगाएर प्रहरीमा जाहेरी दिएकी रोशनी शाहीले अदालतमा भने कुरा फेरेकी छन्। उनले आफूमाथि महराले बलात्कार प्रयास नगरेको तर्क गरेकी छन्।

गत असोज १२ गते रोशनीलाई बलात्कार प्रयासको आरोपमा महरा असोज १९ गते सभामुख निवास बालुवाटारबाट पक्राउ परेका थिए।

प्रहरीको अनुसन्धानका क्रममा महराले डिएनए परीक्षणका लागि रगत दिन मानेका थिएनन् भने ढाँटे नढाँटेको पत्ता लगाउन गरिने पोलिग्राफ परीक्षण गर्न पनि अस्वीकार गरेका थिए।-थाहाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *