October 3, 2026

भन्सार छली गर्नेविरुद्ध मुद्दा

0

काठमाडौँ,

भन्सार छली गरेको आरोपमा विभिन्न व्यक्तिलाई राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको छ ।

भन्सार चोरी पैठारीमा भारतीय नागरिकसहितका व्यक्ति संलग्न भएकाले उनीहरुविरुद्ध रु ५६ लाख ६० हजार बिगो असुलउपर गरी कैद सजायको माग दाबीसहित मुद्दा चलाइएको विभागले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।

भारतीय मालवाहक ट्रकमा लुकाइछिपाइ विल विजक तथा पैठारी गरेको भन्सार प्रज्ञापन पत्र र महसुल तिरेको प्रमाणसमेत नभएको अवस्थाका २४ पोका कपडा फेला परेको थियो ।

उक्त घटनामा भारतको मोतिहारीका सञ्जयकुमार सिंह र विहारका राजेशकुमार श्रीवास्तव, वीरगञ्ज महानगरपालिका–२ का आलोक जैसवाल तथा वडा नं ११ श्रीपुर बस्ने भन्सार एजेन्ट नन्दकिशोर मल्लको समेत मिलेमतो रहेको पाइएको विभागले जनाएको छ ।

उनीहरुविरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिक हदैसम्मको जरिवाना तथा कैद सजायको मागदावी लिई पर्सा जिल्ला अदालतमा मुद्दा चलाइएको विभागले जनाएको छ ।

यसैबीच भारतका रितेशकुमार मधेसियासमेतलाई विदेशी विनिमय अपचलन तथा भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा रु ३३ करोड ३२ लाख विगो कायम गरी रुपन्देही जिल्ला अदालतमा मुद्दा चलाइएको समेत विभागले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *