October 5, 2026

छठ पूजामा लगाइएको बिजुलीले बनाएन उज्यालो, बढ्यो सुरक्षा चुनौती

0

पार्थ मण्डल / भद्रपुर ।

हरेक वर्ष जस्तै यसबर्ष पनि भद्रपुरस्थित मेची नदी किनारमा हर्षोल्लासका साथ मनाइने छठ पूजालाई बिजुली बत्तीले नै ओझेलमा पार्दै आइरहेको छ।

मैथिल समाज भद्रपुरले बिजुली बत्ती जडान गरी मेची नदी किनारलाई झिलिमिली उज्यालो बनाउने दाबी गर्दै आइरहेपनि हरेक वर्ष यही कार्यमा चुक्दै आइरहेको छ।

करिब २ लाख ६० हजारमा यसबर्ष समाजले बिजुली बत्ती जडानको ठेक्का दिएको छ। बिजुली बत्तीमा ठूलो रकम खर्चिर्दै आइरहेको समाजले नदी किनारलाई उज्यालो बनाउन नसक्दा भक्तजनसहित स्थानीयहरू आक्रोशित बन्न थालेका छन्।

छठ पूजाको एक दिन अघि शुक्रवार साँझ मेची नदीमा किनारमा बिजुली बत्ती जडानले कतिको उज्यालो बनाएको विषयमा स्थानीय थाहाकर्मीलाई पूजा स्थल आएर निरीक्षण गर्ने आग्रह गरे।

स्थानीयको आग्रहबमोजिम पूर्वाञ्लकर्मी शुक्रबार साँझ ७ बजे मेची नदी पुग्दा नदी किनारमा जडान गरिएको सबै बिजुली बत्ती बलेका थिए। केही स्थानमा बिजुली बत्ती बले पनि त्यसले नदीलाई उज्यालो बनाउन सकेन।

समाजले भद्रपुर भन्सारको मुख्यद्धारमा बिजुलीको स्वागत गेट बनाएको छ। वडा प्रहरी कार्यालय अगाडि जडान गरिएको बिजुली बले पनि त्यसले खासै उज्यालो बनाएको देखिन्नथ्यो। मेची पुलमाथि दक्षिणतर्फ जडान गरिएको बिजुलीले पुलसहित एकतर्फ मात्र उज्यालो बनायो।

हराउन थाल्यो छठको रौनक

पुलमाथिको बिजुलीको लाइटहरू नदीमा फोकस गरे पनि तल अँध्यारो नै थियो।

पुलको उत्तरतर्फको भागमा बिजुली जडान गरिएको छैन। जसले गर्दा पुलको उत्तरतर्फको नदी किनार अँध्यारो छ। पुलको तटबन्धनबाट जडान गरिएको बिजुलीले पनि उज्यालो बनाएको देखिँदैन।

मेची नदीमा बनाएको अस्थायी बाँसे पुलमा पनि बिजुली जडान गरिएको छैन। पर्याप्त बिजुली बत्ती जडान नगर्दा भद्रपुरको छठ पूजाको रौनक हराउन थालेको छ। समाजले हरेक वर्ष चन्दा सङ्कलन गरी बिजुली बत्ती जडान कार्यलाई व्यवस्थापन गर्दै आइरहेपनि यसले भक्तजनहरू निराश बन्ने गरेको छ।

समाजले हरेक वर्ष छठ पूजामा यस्तै गर्छ, बिजुली बत्ती जडान नगर्दा बिहानको समयमा आउने भक्तजनहरू समस्यामा पर्ने गरेको स्थानीय अजय सिंह राजपुतले गुनासो पोखे।

अहिले नदीमा जडान गरिएको बिजुलीले उज्यालो बनाएको नसकेको बताउँदै स्थानीय आनन्द साहले बताए।

थप बिजुली मागिने

‘समाजले बिजुली बाल्न सक्दैन भने अरूलाई जिम्मा दिनुपर्छ’, उनले भने, ‘हरेक वर्ष किन बिजुलीमा यस्तो लापरबाही हुन्छ, यसको जिम्मा कसले लिन्छ।’, ‘छठ पूजालाई भव्य र सम्भव बनाउन सबैले समाजलाई आर्थिक सहयोग गरेको हुन्छ, त्यसमाथि बिजुलीमै किन यस्तो खेलबाड हुन्छ’, उनले थपे।

खोलामा लगाएको बिजुलीले छठ पूजाको रौनक नै हराउँदै गइरहेको स्थानीय भीमा राजपुतले बताए। ‘समाजले सक्दैन भने हामीलाई जिम्मा दिनुपर्यो, नदीलाई कसरी उज्यालो बनाउनु पर्छ हामीलाई थाहा छ’, उनले भने।,

यता बिजुलीले उज्यालो नबनाएको विषयमा समाजका अध्यक्ष रमेश चन्द्र झासँग जिज्ञासा राख्दा उनले भने, ‘अहिलेसम्म बिजुली बत्ती जडान भइसकेको छैन, राति १० बजेपछि सबै बत्ती बालेपछि मात्र थाहा हुन्छ।’,

‘जडान गरिएको बिजुलीले पनि त उज्यालो बनाउन सकेन भन्ने जिज्ञासामा उनले भने, ‘यस विषयमा हामीले ध्यान दिएका छौँ, उज्यालो बनाउने प्रयासमा छौँ।’, अहिले जडान भएको बिजुलीले उज्यालो नबनाएकोले छठको दिन बिहान सुरक्षालाई समस्या हुने भएकोले नगरपालिकासँग थप बिजुली जडान गर्ने विषयमा कुराकानी भइरहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यम कुमार श्रेष्ठले बताए।

नगरपालिकाले पुलमाथि र तल ४० स्थानमा बिजुली जडान गरिदिने आश्वासन दिएको प्रहरी निरीक्षक श्रेष्ठको भनाई छ। उता युनिक समूहले जडान गरिएको बिजुलीले उज्यालो बनाएको छ।

भारततर्फको भूभागमा पनि भारतीय पक्षले यस वर्ष बिजुली जडान गरी उज्यालो बनाएको दृश्य देख्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *