October 13, 2026

तिहार प्रकृतिका विभिन्न पक्षको सन्तुलनको पर्व हो : प्रधानमन्त्री ओली

0

काठमाडौँ,

प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार प्रकृतिका विभिन्न पक्षको सन्तुलनको पर्व भएको बताउनुभएको छ । तिहार अर्थात् दीपावलीका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले तिहारमा मानवका अतिरिक्त विभिन्न जनावरको समेत पूजाआजा गरिने भएकाले यसले प्रकृतिका विभिन्न पक्षको सन्तुलन र आत्मसम्मान कायम गरेको उल्लेख गर्नुभएको छ ।

“तिहार प्रकृति र पशुपक्षीसँग मिलेको छ, यसमा कागको पूजा, कुकुरको पूजा, लक्ष्मीको पूजा, गोरुको पूजा पनि गरिन्छन्”, प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ, “प्रकृतिका विभिन्न पक्षहरुबीचको सन्तुलनसमेत यस पर्वमा प्रतिविम्बन हुन्छ ।”

प्रधानमन्त्री ओलीले तिहारलाई विभिन्न कोणबाट हेर्न सकिने बताउनुभएको छ । “यो चाड उज्यालोको चाड हो, दीप अर्थात् बत्तीहरु बालेर, उज्यालोको प्रतीक बत्ती बालेर चाड मनाउने गरिन्छ । यस चाडमा सयपत्री, मखमली र अरु विभिन्न पूmलहरु सबैभन्दा धेरै प्रयोग हुन्छ ।

यसैगरी परिवारका सदस्यहरुको खासगरी दिदीभाइ–दाजुबहिनीहरुको मिलनको चाड पनि हो”, प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “तिहारलाई उज्यालोको चाड, फूलको अथवा मिलनको चाडको रूपमा समेत लिन सकिन्छ ।”सन्देशमा प्रधानमन्त्री ओलीले तिहारको उपलक्ष्यमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइको सुस्वास्थ्य, सुख–समृद्धि र सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *