October 13, 2026

‘हल्दिवारी महोत्सव’ सुरु

0

हल्दिबारी,
आन्तरिक पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउने उद्धेश्यले दक्षिणी झापाको हल्दिवारीमा शनिवारबाट हल्दिवारी महोत्सव शुरु भएको छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी झापाको हल्दिवारीमा ‘हल्दिवारी महोत्सव’सुरु भएको हो । स्थानीय जलाशययुक्त भेलागढी उद्यानको बीचमा निर्मित काठेपुलमा हल्दिबारी महोत्सव आयोजना गरिएको हो । महोत्सवको उद्घाटन संघीय सासद राजेन्द्र लिङ्देनले गरेका छन् ।

भेलागढी सामुदायिक वनको हाताभित्र रहेको सो उद्यानलाई लोकतान्त्रिक शहीद स्मृति उद्यान नामाकरण गरिएको छ । सोही पार्कमा महोत्सवको आयोजना गरिएको हल्दिवारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले जानकारी दिए ।
भेलागढी सामुदायिक वनका अध्यक्ष नारायण लुईटेलको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष लिङ्देन सहित प्रदेश संसद पूर्णसिंह राजवंशी, वसन्त वानिया, संविधान सभा सदस्य मोहन टुडू, जिल्ला समन्वय समिति संयोजक सोमनाथ पोर्तेल, लगायतले बोलेका थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले स्वागत गरेको कार्यक्रमको सञ्चालन राजन न्यौपानेले गरेका थिए ।
लोकतान्त्रिक शहीद स्मृति उद्यानमा नै बसेको गाउँ कार्यपालिकाको बैठकले हरेक वर्ष काग तिहारदेखि छठपर्वको भोलिपल्टसम्म सो उद्यानमा हल्दिबारी महोत्सव आयोजना गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिए ।
भेलागढी सामुदायिक वनको हाताभित्रको स्थलले पर्यटकको ध्यान तानेको छ । भद्रपुर विमानस्थलबाट करीब तीन किलोमिटरको दुरीमा रहेको सो वनभित्रको लोकतान्त्रिक शहीद पार्क र पोखरी नै भेलागढको पर्यटकीयस्थल हुन् ।
गाउँपालिकाले गतवर्ष नै ‘फेरि पनि घुम्न जाउँ, हल्दिबारी गाउँ’ भन्ने कार्यक्रम तय गरेर उक्त वनको हाताभित्र सो पार्क निर्माण गरेको थियो ।
हल्दिबारी–२ स्थित देउनिया र हर्चना खोलाको दोभानमा यो वन अवस्थित छ । पार्कमा रहेको प्राकृतिक पोखरी र त्यसमाथि बनाइएको कलात्मक काठेपुल पर्यटकका लागि मुख्य आकर्षण बनेको छ । पार्कमा लोकतान्त्रिक आन्दोलनमा राज्य वा विद्रोहीबाट मृत्युवरण गरेका हल्दिबारीका सबै शहीदको स्मारक रहने बताइएको छ ।
पर्यटकलाई आकर्षित गरेर गाउँपालिकाको आम्दानी बढाउने लक्ष्यका साथ आठ करोड पाँच लाख ३० हजार रुपैयाँको लगानीमा पार्कमा पर्यटकीय पूर्वाधार निर्माण भइरहेको गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिनुभयो । पोखरी वरिपरि ३० वटा सोलार बत्ती, चार किलोमिटर क्षेत्रमा ४० फुटको रिङरोड, २७ वटा टहरा र दोभानका वरिपरि पिकनिक स्थल बनिसकेका छन् । शहीद पार्क्भित्रै हल्दिबारीमा बसोवास गर्दै आएका लोपोन्मुख मेचे, सन्थाल र अन्य जातिका संस्कृति संरक्षण गर्ने उद्देश्यले चार तले सांस्कृतिक सङ्ग्रहालय भवन र सभाहल बनाउने गाउँपालिकाको योजना छ । गाउँपालिकाकाले उक्त पार्कमा नेपाल भ्रमण वर्ष २०२० मा एक लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *