October 15, 2026

लिम्बुवानका नौ कार्यकर्ता पक्राउ गरी छाडिए

0

इलाम,

पल्लो किराँत लिम्बुवान राष्ट्रिय मञ्चका ९ कार्यकर्तालाई प्रहरीले सदरमुकामबाट पक्राउ गरी छाडेको छ। इलाम चोकबजारमा राखिएको राष्ट्रिय झन्डाको छेउमा लिम्बुवानको झन्डा गाढ्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

‘राष्ट्रिय झन्डालाई यो हाम्रो झन्डा होइन भन्दै राष्ट्रियताविरोधी गतिविधि गर्न खोजेकाले उनीहरूलाई पक्राउ गरिएको हो,’ जिल्ला प्रहरी प्रमुख एसपी हीराबहादुर पाण्डेले भने, ‘साँझ ५ बजे उनीहरूलाई छाडिएको छ।’

पक्राउ पर्नेमा मञ्चका केन्द्रीय सचिव मिक्लाजुङ–५, पाँचथरका ४५ वर्षीय धनबहादुर बिक धमला, महिला संघ केन्द्रीय अध्यक्ष रहेकी इलाम माङसेबुङ–३ की ५० वर्षीया कविरमाया साँवा, मञ्चका इलाम अध्यक्ष चुलाचुली गाउँपालिका–३ का २९ वर्षीय विजय आङदेम्बे छन्।

त्यही स्थानबाट मञ्चका इलाम जिल्ला सचिव इलाम नगरपालिका–८ का ३७ वर्षीय मनकुमार माखिम लिम्बू, जिल्ला कोषाध्यक्ष माई–८ का ६२ वर्षीय मैतराज लिम्बू, जिल्ला सदस्य माई–८ का ३१ वर्षीय कमल लकान्द्री, चुलाचुली–३ का ५० वर्षीय वृजराज चौहान, माई–८ का २५ वर्षीय अजाहाङ लिम्बू र चुलाचुली– ३ का ४५ वर्षीय हर्कबहादुर नेम्वाङ पनि पक्राउ परेको प्रहरीले जनाएको छ।

उनीहरूले अन्य गतिविधिसमेत गर्नसक्ने आशंकाले ‘माथिकै आदेश’मा उनीहरूलाई नियन्त्रणमा लिएर छाडिएको एसपी पाण्डेले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *