May 1, 2026

झापामा चितुवाको उपद्रो, स्थानीय त्रसित

0

भद्रपुर।

जङ्गली हात्तीपछि अहिले झापामा जङ्गली चितुवाको उपद्रो बढेको छ ।

भारतीय सीमावर्ती नाकासँग जोडिएको मेचीनगर–७स्थित राज टी इस्टेट आसपासको बस्तीमा केही दिनदेखि जङ्गली चितुवा उपद्रो बढेपछि त्यहाँ स्थानीय चिन्तित बनेका छन् । आहारको खोजीमा निस्किने चितुवा रातको समयमा बस्तीमा प्रवेश गरेर किसानले पालेको घरपालुवा जनावर समेत मार्न थालिसकेका छन् ।

घरपालुवा जनावर मार्न थालेपछि स्थानीय त्रसित बनेका हुन् । आइतबार राति बस्तीमा आएको चितुवाले राज टी इस्टेटका ठेकेदार सन्तोष सुब्बाले पालेको सुँगुर मारेको छ । साता दिनदेखि बगानमा जङ्गली चितुवा देखा परेको ठेकेदार सुब्बाले बताए । तीन दिनको अन्तरालमा चितुवाले यसअघि बगानमै काम गर्ने कामदारले पालेको एउटा सुँगुर र एउटा बाख्रा मारिसकेको उनले बताए ।

‘बगानमा चितुवा निस्किन थालेपछि आसपासका बगानका कामदारसहित आसपासका गाउँले त्रसित छन्’– उनले भने– ‘अहिले रात परेपछि कोही पनि घरबाट एक्लै बाहिर निस्किँदैन, अहिलेसम्म चितुवाले जनावरमा मात्र मार्दै आइरहेको छ, यस्तै रहिरह्यो भने मान्छे मार्ने दिन पनि आउँछ ।’ चितुवा बस्तीमा देखा परेपछि स्थानीयमा त्रास फैलिएको सौरभ टी इस्टेटका कर्मचारी अभिषेक प्रधानले बताए । बस्तीमा चितुवा उपद्रो भए पनि सम्बन्धित निकाय नपुगेको उनको भनाइ छ ।

यता डिभिजन वन कार्यालय झापाका प्रमुख बिष्णुलाल घिमिरेका अनुसार चितुवाले बस्तीमा उपद्रो मच्चाइरहेको जानकारी पाउनासाथ सोमबार वन कर्मचारी टोलीको घटनास्थल पुगेको थियो । वन कर्मचारीले चितुवा नदेखेपछि स्थानीयको गुनासो लिएर फर्किएको उनले बताए । ‘चितुवा देख्ने बित्तिकै वन कार्यालयलाई खबर गर्न कर्मचारीले स्थानीयलाई अनुरोध गरिसकेका छन्’– प्रमुख घिमिरेले भने– ‘चितुवा वा जंगली कुकुर अहिलेसम्म यकिन हुन सकेको छैन, त्यही पनि बस्तीमा चितुवा पक्रिने जालो जामुनखाडी सामुदायिक वनबाट मगाएर त्यहाँ थाप्ने छौं ।’

झापामा यसअघि गौरादहमा चितुवा उपद्रो भएको उनले बताए । जिल्लामा हात्ती उपद्रो छ, तर चितुवा उपद्रो म आएपछि पहिलोपटक सुनेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *