June 14, 2026

फिफा विश्वकप छनोटको दोस्रो चरण खेल्ने नेपाली टोलीको बिदाइ

0

काठमाडौँ,

फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोटअन्तर्गत कुवेतसँगको खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ ।

कुवेतसँगको खेल खेल्न जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवाललगायतले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । नेपाली टोली आइतबार कुवेत प्रस्थान गर्नेछ ।कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकपको छनोटअन्तर्गत नेपालले यही भदौ १९ गते कुवेतसँग उसैको मैदानमा खेल्दै प्रतियोगिता उद्घाटन गर्नेछ ।

त्यस्तै चिनियाँ ताइपेसँग पनि भदौ २४ गते उसैको मैदानमा खेल्नेछ ।राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले कुवेतसँग यसअघि पनि खेलिसकेको बताउदै नतिजा आफ्नो पक्षमा पार्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै एन्फा अध्यक्ष शेर्पाले अष्ट्रेलियाबाहेक अन्य टिमसँग नेपालले खेलिसकेको कारण उत्कृष्ट प्रदर्शन गरेर स्वदेश फर्किनेमा आफू आशावादी रहेको बताउनुभयो ।राखेप सदस्यसचिव सिलवालले कुवेत हाम्रै स्तरको टोली भएको कारण दबाबरहित खेल्न आग्रह गर्नुभयो । विश्वकप छनोटमा नेपाल समूह ‘बी’मा रहेको छ ।

नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चिनियाँ ताइपे छन् । सहभागी खेलाडीको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ छन् भने डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छन् ।

त्यस्तै मिडफिल्डरमा रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, र विशाल राई छन् भने फरवार्डमा विमल घर्तीमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *