September 19, 2026

छोरालाई क्यान्सर भएपछि आमाले गरिन् सहयोगको याचना

0

भद्रपुर।

बुबाको निधनपछि आमासहित भाइबहिनीलाई पाल्दै आइरहेका किसन दास क्यान्सर रोगबाट ग्रसित भएर थला परेका छन् । भद्रपुर नगरपालिका–८स्थित फूलबारी टोल बस्ने २६ वर्षीय दासको मलद्वारमा क्यान्सर रोग लागेको हो ।

क्यान्सर लागेर अस्पताल भर्ना भएपछि उनका परिवार अहिले बिचल्लीमा परेका छन् । मधेसी समुदायका किसनका परिवारको आर्थिक अवस्था निक्कै कमजोर भएकोले सहयोगका लागि सबै समक्ष अपिल गरेका छन् । ६ वर्षअघि बुबाको निधन पश्चात् परिवार पाल्न भनी पढाइ छाडेर किसन बैदेशिक रोजगारीका लागि सन् २०१५मा दुबई गएका थिए । आमाले ऋण लिएर दुबई पठाएका किसन दुई वर्षपछि अर्थात् सन् २०१७मा घर फर्किएका थिए । त्यस बेला विदेशमा कमाएको पैसाबाट उनले आमाले लिएको ऋण तिरे र केही रकम जुटाए । सन् २०१७मा फेरि किसन वैदेशिक रोजगारीका लागि दुबई पुगे, तर, त्यही बेला उनी बिरामी परे ।

बिरामी भएपछि किसन घर फर्किए । घर फर्किएर उनले चेकजाँच गर्दा उनलाई क्यान्सर भएको थाहा भयो । दुई वर्षअघि देखि क्यान्सर पीडित बनेका छोरा किसनको उपचारमा अहिलेसम्म १५ लाखभन्दा बढी खर्च भइसकेको उनकी आमा सुनीताले बताइन् । ‘परिवार पाल्ने छोरालाई नै क्यान्सर रोग लागेको थाह पाएपछि उपचारका लागि काठमाडौँस्थित नेपाल क्यान्सर अस्पताल लगेँ’– उनकी आमा सुनीताले भनिन्– ‘त्यहाँ केही दिन उपचार गराएको र रकम सकिएपछि छोरालाई लिएर घर फर्किएँ ।’

‘त्यसपछि यहाँ ल्याएर पटक–पटक छोराको उपचार जसोतसो ऋण र सापटी मागेर गर्दै आइरहेकी छु ’– उनले थपिन्– पैसा सकिएपछि छोरा किसन घरमै थला परे, मलद्वार सुन्निएर दिसापिसाब रोकिँदा पेट सुन्निएको दुःखका घटना सुनाउँदै आमा सुनीताले भनिन्– ‘त्यसपछि चार धुर जग्गा बैङ्कमा राखेर फेरि ऋण निकालेर छोरालाई मेची अञ्चल अस्पताल भद्रपुरमा भर्ना गराएँं, चिकित्सकले पेटबाट दिसापिसाब निकाल्ने बाटो बनाइदियो ।’

अहिले छोराको उपचार मेचीमै भइरहेको उनले बताइन् । छोरालाई क्यान्सर रोग भएपछि सात वर्षको नाति लिएर बुहारी माइती गइसकेकी छिन् । ‘यता छोरा क्यान्सर भएर थला पर्नु, उता बुहारीले नाति लिएर घर छाडेर जानु, यस्तो पीडा कसैलाई नपरोस्’– उनले भनिन् । छोराको उपचारका लागि सहयोग गरिदिनुहुन उनले सबै समक्ष आग्रह हात फैलाएकी छिन् ।

किसन दास बचाउ अभियान

बिर्तामोड–४स्थित गङ्गामाया तथा नरबहादुर क्यान्सर पीडित सहयोग संस्था किसन दास बचाउ अभियानमा जुटेको छ । अर्थ र चेतनाको अभावमा स्वास्थ्यको कारण कोही पनि नेपालीको मृत्यु हुनु हुँदैन भन्ने संकल्प लिएर किसन दास बचाउ अभियानमा लागेको संस्थाका अध्यक्ष भूपाल बस्नेतले बताए ।

मेची अञ्चल अस्पतालमा उपचार भइरहेका किसनको स्वास्थ्य अवस्था देखाउँदै पत्रकारहरू समक्ष बस्नेतले भने– ‘किसन बचाउ अभियानमा हामी जुटेका छांै, यसका लागि आर्थिक संकलन शुरु गर्छाैं ।’ ‘क्यान्सर रोग बिरामीको क्षेत्रमा काम गर्दै आइरहेको यस संस्थाले अहिलेसम्म ९५ जनाको उपचार गराइसकेको छ, उनीहरूको उपचारमा ६५ लाखभन्दा बढी खर्च गरिसकेका छौ’– उनले भने– अब यो संस्था किसनलाई बचाउन लागीपरेको छ ।

यस अभियानलाई सफल बनाउन देश तथा विदेशमा रहेका नेपालीहरूले आर्थिक सहयोग गरिदिनुहुन सबै समक्ष उनले अपिल गरेका छन् । किसनको सहयोगका लागि ९८४२६५२५१२ र ९८०३०४१४३१ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *