September 16, 2026

नेपालबाट बाहिर निर्यात हुने नगदे बाली चिया भने घट्यो

0

इलाम,

विदेशबाट नेपाल आयतित वस्तु वर्षेनी बढिरहेका बेला नेपालबाट बाहिर निर्यात हुने नगदे बाली चिया भने घटेको देखिएको छ । देशको पूर्वी क्षेत्रमा उत्पादित चिया आर्थिक वर्ष २०७४÷७५ को तुलनामा २०७५÷७६ मा घटेको तथ्याङ्कले देखाएको छ ।

देशको व्यापार सन्तुलन कायम गर्न महत्वपूर्ण हिस्सा राख्ने चिया निर्यात घट्दा भने व्यापार सन्तुलन गर्नसमेत समस्या हुने देखिन्छ । आव २०७४÷७५ को भन्दा २०७५÷७६ मा एक दशमलब पाँच प्रतिशतले घटेको देखिन्छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका तथ्याङ्कअनुसार आव २०७४÷७५ मा एक करोड ५६ लाख ८४ हजार ५४४ केजी चिया निर्यात भएकामा गत आव २०७५÷७६ मा एक करोड ५० लाख ४३ हजार ७९६ केजी निर्यात भएको तथ्याङ्कले देखाउँछ ।

यसरी हेर्दा गत आवमा ६४ हजार ७४८ किलो चिया निकासी कम भएको देखिन्छ ।सरकारले चियाका लागि पर्याप्त युरिया मल उपलब्ध नगराउनु, पर्याप्त श्रमिक नहुनेलगायत समस्या भएकाले चिया निकासी घटेको चिया उद्यमी उदय चापागाईं बताउनुहुन्छ ।

“सरकारले चियासम्बन्धी स्पष्ट नीति नल्याएकाले पनि चियामा नैराश्यता बोध भएको हो”, चापागाईंले भन्नुभयो, “आन्तरिक खपत बढेकाले पनि निकासी घटेको हुन सक्छ । सरकारले प्राङ्गरिक चिया प्रवद्र्धन गर्न नसक्नु र चिया किसान–श्रमिकलाई प्रोत्साहित गर्न नसक्नाले पनि यो समस्या भोग्नुपरेको हो ।”

उहाँका अनुसार गुणस्तरीय चिया उत्पादन गरेमा बाहिरी खपत बढ्ने र आम्दानीसमेत बढ्ने देखिन्छ । नेपालमा १६ हजार ३६ मेट्रिक टन चिया सिटिसी उत्पादन हुने गरेको छ भने अर्थोडक्स दुई हजार ६७० मेट्रिक टन, २२० मेट्रिक टन ग्रीन टी र स्पेसियल टी ३२ मेट्रिक टन तयारी चिया उत्पादन हुने पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *