June 14, 2026

फालेलुङ गाउँपालिका अलैँची जोन विस्तार गरियो

0

पाँचथर ।

जिल्लाको सिदिन र एकतिनमा २०७३÷७४ देखि शुरु गरिएको अलैँची जोन कार्यक्रम विस्तार गरिएको छ । फालेलुङ गाउँपालिकामा पर्ने उक्त क्षेत्रसँगै अहिले पूरै गाउँपालिकामा अलैँची जोन विस्तार गरिएको हो ।

अलैँची जोन एकाइ कार्यालयका कृषि अधिकृत प्रकाश विश्वकर्माका अनुसार पाँच सय ११ हेक्टर जग्गाबाट शुरु गरिएको उक्त कार्यक्रम हाल एक हजार ६५८ हेक्टर क्षेत्रफलसम्म विस्तार भएको छ । आव २०७५÷७६ मा तीन लाखभन्दा बढी उन्नत जातका बिरुवा सो क्षेत्रमा वितरण गरिएको विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार क्षेत्र विस्तार गरी उचाइका आधारमा बिरुवा वितरण गरिएको हो ।

फालेलुङ गाउँपालिका–२ मा जिर्मले र गोल साई जातको बिरुवा वितरण गरिएको छ । वडा नम्बर १ मा राम साई जातका बिरुवा वितरण गरिएको छ । यस्तै वडा नम्बर ३, ४, ५, ६, ७ र ८ मा राम साई, सेरेम्ना र भार्लाङ जातका बिरुवा वितरण गरिएको विश्वकर्माले जानकारी दिनुभयो ।

“अलैँची उत्पादन वृद्धि गर्न साना सिँचाइ, बिरुवा वितरण, स्प्रिङ्कल, स्प्रेलगायत वितरण गरी उत्पादनमा वृद्धि हुने कार्यक्रम लागू गरिएको छ । प्रशोधनतर्फ गुणस्तरीय उत्पादन गर्न धुवाँरहित सुधारिएको अलैँची भट्टी वितरण गरिएको छ”, उहाँले भन्नुभयो ।

बजारीकरणलाई लक्ष्य गरी अलैँचीको आन्तरिक खपत वृद्धि गर्न जोन एकाइ कार्यालय, अलैँची जोन कार्यालयले अलैँचीको धुलो, मसला, गरम मसला, गोटा अलैँची, प्याकेजिङ गरी बजारीकरण गर्न विभिन्न कृषक समूहलाई अनुदान उपलब्ध गर्न थालिएको उहाँले बताउनुभयो ।

“अलैँची जोनद्वारा यस क्षेत्रमा अलैँची रोग किरा नियन्त्रण गर्ने, माटो परीक्षण, उन्नत खेती प्रविधि तालीम, गोष्ठी कार्यक्रमलगायत गर्दै आएका छौँ”, विश्वकर्माले भन्नुभयो । जोन कार्यक्रम विस्तारले अलैँची उत्पादनमा वृद्धि भएको छ । फालेलुङ गाउँपालिकामा अलैँची उत्पादन प्रतिहेक्टर ०.३९३ मेट्रिक टन उत्पादन हुने गरेको तथ्याङ्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *