अफगानिस्तानमा २८ जना लडाकू मारिए
अफगानिस्तान।
अफगानिस्तानमा सरकारी फौजले गरेको हवाई आक्रमणमा परी कम्तीमा २८ जना तालिबानी लडाकू मारिएका छन् ।देशको उत्तरी फार्याब प्रान्तमा भएको कारबाहीमा उनीहरुको मृत्यु भएको सैनिक स्रोतले आइतबार जनाएको छ ।
“तालिवान लडाकूहरुको अखडामा २९ जनालाई लक्षित गरी हवाई आक्रमण भएको थियो, तीमध्ये कम्तीमा २८ जनाको मृत्यु भएको छ,” सेनाका एक जना प्रवक्ता हनिफ रेजाइले भन्नुभयो ।
उहाँले सिन्ह्वालाई दिएको जानकारी अनुसार फार्याब प्रान्तको बिलचिराघ जिल्लामा रहेको अखडामा शनिबार राति आक्रमण भएको हो ।
सुरक्षाकर्मीमाथि आक्रमण गर्ने तयारी गरिरहेका तालिबान लडाकूहरुलाई सुरक्षाकर्मीहरुले नै आक्रमण गरेका हुन् । घटनाका बारेमा तालिबान लडाकूहरुको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन ।
