September 15, 2026

आज हरिशयनी एकादशी, तुलसी रोप्ने दिन

0

काठमाडौं,

घरघरमा तुलसी सारेर शुक्रबार हरिशयनी एकादशी मनाइँदै छ। एक महिनाअघि जेष्ठ शुक्ल एकादशी (निर्जला एकादशी) मा छरिएको तुलसीको बीउ तयार भई यसैदिन रोप्नुपर्ने मान्यता छ।

यो एकादशीलाई देवशयनी एकादशी पनि भनिन्छ। वैष्णव धर्मअनुसार यो दिनदेखि चतुर्मास आरम्भ हुन्छ। पौराणिक ग्रन्थहरूका अनुसार यो दिनदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्छन्।

यो अवधि चार महिनाको हुने भएकोले चतुर्मास भनिएको हो। धार्मिक एवं ज्योतिषीय मान्यताका आधारमा चतुर्मासभर विवाह, व्रतबन्ध, प्रतिष्ठा, जस्ता मांगलिक कार्य गर्नु हुँदैन।

यो अवधिभर तुलसीको पूजा गर्ने भागवत आदि विष्णु माहत्म्यका ग्रन्थहरू पाठ गर्ने परम्परा छ। यद्यपि सूर्य दक्षिणायान रहँदा सामान्यतया मांगलिक कार्य गरिँदैनन्। यसरी आँगनको मठमा रोपिएको तुलसीलाई भगवान् विष्णु वा उनको प्रियाको रूपमा पूजा गर्ने परम्परा छ।

चतुर्मासभर पूजा गरिने तुलसी बोटविरुवामध्ये अत्यधिक अक्सिजन फ्याँक्ने वनस्पति हो भने यसबाट विविध प्रकारका औषधि उपचार पनि गर्न सकिन्छ। चतुर्मासको समाप्ति कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीमा हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *