September 16, 2026

सल्यानका टिमुरको विरुवाको ४० भन्दा बढी जिल्लाबाट माग

0

सल्यान,

सल्यानमा उत्पादन गरिएका टिमुरका बिरुवाको माग बढ्न थालेको छ । उहाँ उत्पादित टिमुरका विरुवाहरु निरोगी र स्वस्थ्य रहेकाले देशभित्रैबाट माग बढ्न थालेको हो।

यहाँमा उत्पादन भएका टिमुरका विरुवाहरु सबै क्षेत्रमा रोप्न सकिने र गुणस्तरीय भएकाले माग बढिरहेकाले जिल्लाका विभिन्न स्थानहरुमा विरुवा उत्पादनका लागि नर्सरी स्थापना गरिएको छ । विरुवाको माग बढ्न थालेपछि व्यावसायिक रुपमा टिमुरको नर्सरी स्थापना गरेर विरुवा उत्पादन गरिरहेको कपुरकोट गाउँपालिका–३ का तिलक शर्माले जानकारी दिए।

उनले भने, ‘हामीले उत्पादन गर्ने विरुवाहरु गुणस्तरीय भएकैले ४० जिल्लाबाट रु तीन लाख बढी विरुवाको माग आएको छ माग अनुसार विरुवा पाउन पनि गाह्रो छ।’ उनले उत्पादन गरेका टिमुरका विरुवाहरु सङ्खुवासभादेखि बैतडीसम्मका ४० बढी जिल्लाबाट माग आए पनि मागअनुसारको आपूर्ति गर्न नसकेको बताए।

शर्माले भने, ‘अहिले मसँग रु एक लाख ५० हजार मात्रै विरुवा छ माग रु तीन लाख छ अन्य विरुवा उत्पादकसँग समन्वय गरेर भएपनि पुर्‍याउँछु।’ टिमुरका प्रतिविरुवा ४० का दरले बिक्री भइरहेको बताउने शर्माले वार्षिक १५ देखि २० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्।

टिमुर तथा फलफूलका विरुवा उत्पादन गर्दै आएका छत्रेश्वरी गाउँपालिका–२ बुरासेका तेजबहादुर योगीलाई पनि विरुवा पु¥याउन नसकेर हैरानी खेप्नुपरेको छ । नर्सरीमा उत्पादन भएका विरुवाहरु मुख्य मौसम नआउँदै विरुवाहरु सकिएपछि गुनासो गर्नेहरुको सङ्ख्या धेरै रहेको छ । योगीले भने, ‘नर्सरीमा रु दुई लाख बढी विरुवाहरु उत्पादन गरेको थिए असारको पहिलो हप्ता नै सकियो अहिले फोन गर्नेहरुको ताँती छ, विरुवा छैन मागअनुसारको पूर्ति हुन सकिरहेको छैन।’

समुन्द्र सतहदेखि १८ सय मिटर उचाइमा विरुवा उत्पादन हुन्छ। प्रतिविरुवा ५० देखि ६० रुपैयाँसम्म विक्री गर्दै आएका योगीले वार्षिक १० देखि १५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। उनले भने, ‘टिमुरको उमार शक्ति १० देखि १५ प्रतिशत हो तर हामीले ६० देखि ७० प्रतिशतसम्म विरुवा उमारेको छौँ।’

टिमुरका विरुवाहरु खरिद गर्न ग्राहकरु घरमै आउने भएकाले बजारीकरणको समस्या नभएको बागचौर नगरपालिका–९ का ज्ञानबहादुर डाँगीले भनाइ छ। डाँगीले भने, ‘नर्सरीमा उत्पादन गरेको एक लाख ३० हजार विरुवा सबै विक्री भइसकेका छन्।’ जडिबुटीको रुपमा रहेको टिमुरको मूल्य अत्यधिक भएकाले पनि विरुवाको माग बढिरहेको छ।

अहिले दैनिक तीनदेखि चारवटा गाडीबाट टिमुरलगायत विभिन्न फलफूलका विरुवाहरु निर्यात भइरहेका छन् । सुन्तला, जुनार, कागती, टिमुर, तेजपात, ओखर, स्याउलगायतका विरुवाहरु निर्यात भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *