September 14, 2026

दुई सातादेखि ६३ वर्षीय लोकबहादुर बेपत्ता

0

गलकोट,

बागलुङको गलकोट नगरपालिका–७ मल्मका ६३ वर्षीय लोकबहादुर केसी दुई सातादेखि बेपत्ता हुनुभएको छ । स्वास्थ्य उपचारका लागि बागलुङबाट बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल जान हिँड्नुभएका केसी असार ३ गते दिउँसो ३ बजे बुटवलकै ट्राफिकचोकदेखि हराउनुभएकोे इलाका प्रहरी कार्याल बुटवलका प्रहरी निरीक्षक श्रीकृष्ण पौडेलले बताउनुभएको छ ।

केसीले बोक्नुभएको मोबाइल नम्बरमा फोन गर्दा ‘स्वीचअफ’ बताएको केसीकी बुहारी रीता खत्रीले जानकारी दिनुभयो । केसीको अहिले रूपन्देही प्रहरी र बुटवल तथा भैरहवामा बस्दै आइरहेका आफन्तले खोजी तीव्र पारे पनि हालसम्म भेट्टाउन नसकेको खत्रीले बताउनुभयो । “हामीले बुटवल, भैरहवामा रहेका सबै गलकोटे दाजुभाइ, दिदीबहिनी, आफन्तजनसँग निरन्तर सम्पर्क गरिरहेका छौँ”, खत्रीले भन्नुभयो, “दुई हप्ता बित्दासमेत फेला पार्न सकिएको छैन ।”

केसीको खोजीका लागि रुपन्देही प्रहरीले नेपाल–भारत सीमामा रहेको सिसीटिभी फुटेज अवलोकन गरिरहेको जनाएको छ । दुई साता बित्दा पनि कुनै सङ्केत नभेट्दा आफन्त चिन्तित छन् । केसीको परिवारमा श्रीमती, छोरा, बुहारी, तीन छोरी र नातिनातिना छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *