September 14, 2026

हुनेवाला ज्वाइँ जब ४२ लाख लिएर बेपत्ता भए…

0

काठमाडौं,

विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्युठान सरिवाङका ३२ वर्षीय शशिधर खड्कालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले चार दिनअघि उनलाई ललितपुरस्थित पुल्चोकबाट पक्राउ गरेको हो। नयाँ पत्रिका दैनिकमा समाचार छ, प्रहरीका अनुसार उनलाई तीन महिनाको प्रयासपछि पक्राउ गरिएको हो।

उनले काठमाडौंकी १२ कक्षामा अध्ययनरत एक किशोरीलाई विवाह गरेर अमेरिका लगिदिने प्रलोभनमा ४२ लाख रुपैयाँ असुलेका थिए। प्रहरीका अनुसार छोरी अमेरिका जाने प्रलोभनमा परेपछि अभिभावकले घर बैंकमा राखेर ४२ लाख रुपैयाँ जुटाएका थिए।

रकम लिएर खड्का गायब भएपछि मात्रै किशोरी र उनका अभिभावकले ठगिएको महसुस गरेका थिए। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले विवाह गरेर अमेरिका लगिदिने प्रलोभनमा पारी किशोरी र उनका अभिभावकलाई घर न घाटको बनाएको बताए। उनले भने, ‘यसले किशोरीसँग विवाह गर्छु भन्यो ।

अमेरिकाबाट भर्खरै आएको भनेपछि किशोरी पनि लोभिइन्। किशोरीले अभिभावकसँग छलफल गरिन् । विवाहपछि छोरी अमेरिका जाने भएपछि अभिभावक पनि मक्खै परे । यही क्रममा खड्काले किशोरीका अभिभावकसँग ४२ लाख रुपैयाँ माग्यो । घर बैंकमा राखेर रकम झिके। रकम पाएपछि हुनेवाला ज्वाइँ (खड्का) बेपत्ता भए, बल्ल ठगिएको भेउ पाए ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *