June 14, 2026

संविधानले लैङ्गिक समानताको प्रत्याभूति गरेको धेरै भयो । यस अनुसार सरकारी, निजी तथा संगठित संस्थाहरुमा नियम कानून निर्माण गरिएका पनि छन् । पछिल्लो संविधान अनुसार महिलालाई विशेष प्राथमिकता दिइएको छ र कुनै पनि सार्वजनिक संगठन निर्माण गर्दा महिला प्रतिनिधित्व अनिवार्य मानिन्छ ।

शासकीय पद्धति होस् वा स्थानीय, प्रादेशिक वा संघीय सरकार गठन गर्दा होस् संवैधानिक व्यवस्थाद्वारा निर्दिष्ट प्रक्रिया अपनाउन थालिएको छ । अब महिला घरको संघारभित्र मात्रै सीमित छैनन्, नीति निर्माणको तहसम्म पुगेका छन् । स्वयम्लाई सशक्तिकरण गर्नु मात्र अब महिलाका लागि चुनौतिको विषय बनेको छ ।
शिक्षाको विकासले चेतनाको स्तर उठ्दैछ, महिलाहरुमा । छोरी, बुहारी, दिदीबहिनी, भाउजु, आमा जुनकुनै रुपमा रहँदा पनि आफूलाई सक्षम बनाउनुपर्छ । त्यसका लागि स्वयम्को चेतना जाग्रत हुनुपर्दछ । अधिकार प्राप्तिका लागि संघर्षशील पनि हुनुपर्दछ ।

त्यस्तै चेतना र संघर्षको उदाहरण दिएका छन् पोखराका महिलाहरुले । गत साता पोखरा पश्चिमाञ्चल होटल संघको आयोजनामा शुरु भएको फेवा महोत्सवमा सहभागी ३६ आमा समूहका महिलाले अधिकार खोसेर लिनुपर्दछ भन्ने देखाए । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यमा भएको समारोहकी प्रथम वक्ता प्रगति आमा समूहकी अध्यक्ष विष्णु केसीले महिलालाई केवल मनोरञ्जनका रुपमा मात्र लिएको भन्दै महिला माथिको विभेदको विरोध गर्दै आमा समूहलाई झाँकी प्रदर्शन नगर्न आह्वान गरिन् ।

मुख्यमन्त्रीकै अघि आमा समूहको यो भनाइ व्यवस्थापन गरिएको विभेदप्रति लक्षित रहेको थियो । महिलाको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था विपरीत मञ्चमा पुरुषलाई मात्र राखेका कारण विद्रोह गरेका महिलाहरु केसीले विभेद कहिलेसम्म भन्नासाथ कार्यक्रमबाटै बाहिरिए । महिलाहरुले मुख्यमन्त्रीकै कार्यक्रम छाडेर हिँड्नु विद्रोह थियो, यो मुख्यमन्त्रीले नै अपमानित महशुस गर्नुपर्ने विषय थियो । यसले महिला अब परम्परागत चुलाचौकामा मात्र सीमित छैनन् भन्ने देखाएको छ । अधिकार खोसेर लिनुपर्छ भनेर विद्रोह गर्ने आमाहरुको चेतनालाई सम्मान गर्नुपर्छ र, सम्पूर्ण उमेर समूहका महिला जातिको अधिकार उपयोग गर्न आफू पनि सक्षम हुनुपर्दछ भन्ने आत्मबोध गर्नैपर्छ ।

वैदेकि सनातनी मान्यताले नारी शक्तिलाई उच्च सम्मान गरेको छ । पुरुषप्रधान समाज व्यवस्थाका कारण महिला जाति विभेद र शोषणमा परेको पनि सत्य हो । यी दुबै अवस्थाका बीचबाट महिला समानताको कुरा कानूनले नै टुङ्गो लगाइसकेको छ । कतै समूह गठन गर्दा होस्, समिति वा कुनै औपचारिक कार्यक्रम गर्न होस् अहिले महिलालाई आरक्षण दिन थालिएको छ । महिला सशक्तिकरणले मात्र एउटा घर सक्षम र सबल हुन्छ, अनि समाज र सिङ्गै देश बलियो हुन्छ । त्यसका लागि अवसर दिनुपर्दछ, पहुँच बिस्तार गरिनु पर्दछ र सबैखाले विभेदको अन्त्य गर्दै सभ्य समाजको निर्माण गर्नुपर्दछ । यसकै लागि पोखराका आमा समूहले विद्रोह गरेका छन् त्यसले सम्पूर्ण आमा जातिलाई ऊर्जा दिओस्, प्रेरणा र सशक्तिकरणमा लाग्न बल प्रदान गरोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *