May 3, 2026

भद्रपुर–६ खुल्ला दिसामुक्त

0

भद्रपुर, झापाको भद्रपुर नगरपालिका अन्तरगतको वडा नम्बर ६लाई खुल्ला दिसामुक्त वडा घोषणा गरिएको छ ।
भद्रपुर नगर क्षेत्रका १० वटा वडामध्ये ६ नम्बरलाई ८औ वडाको रुपमा खुल्ला दिसामुक्त घोषणा गरिएको हो । भद्रपुर ४ र ५ नम्बर वडा अब खुल्लादिसामुक्त घोषणा हुन बाँकी छ ।
६ नम्बर वडा कार्यालयले जिल्ला जनस्वास्थ्य कार्यालय झापाको परिसरमा आयोजना गरेको एक कार्यक्रमका बीच भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रामाया श्रेष्ठ र वडाध्यक्ष प्रेमबहादुर बरुवालले संयुक्त रुपमा ६ नम्बर वडालाई खुल्ला दिसामुक्त घोषणा गरेका हुन् ।
वडालाई खुल्ला दिसामुक्त घोषणा गरेसँगै भद्रपुर नगरपालिकाले वडा कार्यालयलाई नगद एक लाख रुपैयाँले पुरस्कृत गरेको थियो । भद्रपुरको साविक वडाहरु ७, ८, ९ र १३ र महेशपुरको साविक ६ र ८ नम्बर वडा एकीकृत भई बनेको वडा नम्बर ६ मा ६५ प्रतिशत ग्रामीण र ३५ प्रतिशत शहरी क्षेत्र रहेको छ । आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित र अल्पसंख्यक समुदायाको बाहुल्यता रहेको यस वडामा एक हजार चार सय ४८ घरधुरी रहेको छ ।
त्यसमध्ये ओडिएफको सर्वेक्षण अनुसार दुई सय ५६ घरधुरी शौचालयविहीन रहेकोमा जनप्रतिनिधि र वडाबासीको सहयोगमा एक सय तीन घरले स्वतःस्फुर्त शौचालय निर्माण गरेका छन् भने बाँकी स्थानीय तहको सहयोगमा शौचालय निर्माण गरिदिएको वडाध्यक्ष प्रेमबहादुर बरुवालले जानकारी दिए । भद्रपुर नगरपालिकाका प्रमुख श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपप्रमुख चन्द्रामाया श्रेष्ठ, वडा अध्यक्ष बिनोद पोखरेल, प्रमुख प्रशासकीय अधिकृत तुलसीप्रसाद श्रेष्ठ, नेकपाका असारु राजवंशी, नेपाली कांग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल, सिद्देश्वर टोल विकास संस्थाकी अध्यक्ष सन्ध्या हाडा लगायतले मन्तव्य राखेका थिए ।
सोही कार्यक्रममा वडालाई खुल्ला दिसामुक्त बनाउन सहयोग पुर्याउने विभिन्न टोल विकास संस्था, वडाबासी, विभिन्न संघ–संस्था, कर्मचारी लगायतलाई प्रशांसपत्रले सम्मान गरिएको थियो । वडा सदस्य बीभा पासवानले स्वागत गरेको कार्यक्रममा वडा सदस्य प्रकाश शर्माले प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन कर्मचारी राजन न्यौपानेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *