April 30, 2026

महिलाले पनि कपाल काट्न हुन्छ र, हेमन्तालाई सोध्नुहोस !

0

(गोपालप्रसाद पोखरेल)

पथरी , भदौ ३० । कपाल काट्ने सैलुन कसले चलाउँछ वा सैलुनमा कसले कपाल काट्छ भनेर कसैलाई प्रश्न गरे सहजै उत्तर आउँछ, पुरुषले । तर त्यो प्रश्नको उत्तर अब गलत हुनसक्छ । मोरङको उर्लाबारी मङ्गलबारे–१ की २३ वर्षीया हेमन्ता ठाकुरले सैलुन खोलेरै कपाल काट्ने व्यवसाय सुरु गरेपछि उदाहरणीय बन्नुभएको छ ।

मोरङको उर्लाबारीस्थित आइतबारे चोकमा हेयर कटिङ (सैलुन) व्यवसाय सञ्चालन गरिरहेकी हेमन्ता ठाकुर आफ्नो व्यवसायबाट सन्तुष्ट रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जीविकोपार्जनका लागि यो पेसा सहज छ । सामाजिक काममा पनि सकेको दान गर्दै आएकी छु ।”

पुरुषको दाह्रीजुँगा र कपाल काट्ने काम महिलाका लागि सुहाउँदैन भनेर आफूलाई जिस्क्याउने र हेयको दृष्टिले हेर्ने महिला फेला पर्ने गरेपनि आफूले त्यस्ता भनाइको वास्ता नगरी व्यवसाय गर्नमा कुनै हीनताबोध नभएको उहाँले बताउनुभयो । चुलोचौको र मेलापातको काममा व्यस्त देखिने नेपाली समाजका कतिपय महिलाका लागि ठाकुरले सुरु गरेको सैलुन व्यवसाय साँच्चै उदाहरणीय काम बन्न पुगेको छ । पुरुषले गर्ने काम महिलाले किन गर्न नहुने भन्ने प्रश्न गर्दै उहाँले हेयर कटिङको काम गर्दा रमाइलो लागेको अनुभव सुनाउनुभयो ।

हेमन्ता भन्नुहुन्छ, “नराम्रा तर्क, वितर्क र खिसी गर्नेको मतलब नराखी निरन्तर अगाडि बढिरहेकी छु, धनीमानी र फुर्सदिलाहरूले छिः यस्तो के काम गरेको होला भन्दै जिस्काउँथे, खिस्सी गर्ने, होच्यिाउन खोज्थे । तर आजभोलि यसै पेसामा स्वावलम्बी भएपछि उनीहरूको बोली नै बन्द भएको छ । ”

पहिलोपटक आफूले कपाल काटेको देख्नेहरू भने अचम्ममा पर्ने गरेको उहाँको अनुभव छ । कपाल काट्ने, दाह्री काट्ने, अनुहार मसाज गर्ने, फेसवास गर्ने लगायतका सबै काम गर्छु, ठाकुरले गर्वका साथ भन्नुभयो, “कपाल र दाह्री काट्न आउने कतिपय सभ्य र बुझेका व्यक्तिले त महिलाले पनि राम्रोसँग कपाल काट्ने रहेछन् भनेर खुसी हुँदै तोकिएभन्दा बढी रुपैयाँ दिएर जान्छन् ।”

“कतिपयले बहिनी पैसा फिर्ता दिनु पर्दैन, तर पेसालाई सानो नसम्झिनु” भन्दै निरन्तरता दिन सुझाब दिनेगरेको उहाँको भनाइ छ । त्यसबेला हेमन्ती भावुक त हुन्छिन् नै । आफ्नो पेसाप्रति त्यसो भन्दिँदा हेमन्तीलाई गौरवान्वित बनाउने गरेको अनुभव उहाँ सुनाउनुहुन्छ । यसले लिङ्गभेदकै कारण आफूले जानेको सीपलाई दबाएर राख्न नहुने दलिल पेस गरेको स्थानीय महिला नेत्री गोमा नेपालको भनाइ छ ।

सुरुसुरुमा चाहिँ केटा मान्छेको कपाल, दाह्री काट्दा असजिलो लागेको पनि हेमन्तीले स्मरण गर्न भ्याइन् । उर्लाबारीमा सैलुन चलाउँदै आएका श्रीमान् सोनी ठाकुर वैदेशिक रोजगारीमा गएपछि हेमन्तीले श्रीमान्को ‘बिँडो’ थाम्दै आउनुभएको हो । श्रीमानकै सहयोगमा कपाल र दाह्री काट्ने सीप सिकेको पनि उहाँको भनाइ छ । हेमन्ताले आफ्नो कमाईले घर खर्च चलेको उल्लेख गर्दै श्रीमान्ले पठाएको ‘रेमिट्यान्स’ लाई बचत गरेको बताउनुहुन्छ । आफूले महिनामा १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको हेमन्ताको भनाइ छ ।

उर्लाबारी बहुमुखी क्याम्पसका उपप्राध्यापक भीष्मा रेग्मी भट्टराई भन्नुहुन्छ, “सामाजिक विभेद अन्त्यका लागि पनि उनले अँगालेको अभियानलाई सम्मान गरिनुपर्छ । चुलोचौकामा सीमित महिलाले हेमन्तीबाट पाठ सिक्नुपर्छ । कपाल नै काट्नुपर्छ भन्ने छैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *