June 13, 2026

अर्जुनधाराको तीन वडामा न्यायिक सचेतना कार्यक्रम

0
अर्जुनधारा । 
झापाको अर्जुनधारा नगरपालिका अन्र्तगत रहेको न्यायिक समितिले तीन वटा वडामा बिहीबारदेखि न्यायिक सचेतना कार्यक्रम शुरु गरेको छ ।
अर्जुनधारा–२ नं. वडाबाट शुरु गरिएको उक्त कार्यक्रम वडाबासीहरुलाई न्यायिक समितिको अधिकार क्षेत्रका विषयमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको समितिका सदस्य तुम्मनाथ काफ्लेले बताए ।
वडा कार्यालयको सभाहलमा आयोजित उक्त कार्यक्रमको उद्घाटन अर्जुनधारा नगरपालिकाकी उपप्रमुख एवम् कार्यक्रमकी सभाध्यक्ष खड्गमाया पराजुलीले गरेकी थिइन् । सहजकर्ता सर्वोच्च अदालतका उपसचिव राजन सुवेदीले सहजिकरण गरेको तालिममा ६० जना बढीको सहभागिता रहेको समितिकी अधिकृत मायाकुमारी ऐरले जानकारी दिइन् ।
कार्यक्रममा स्थानीय सरकार सञ्चालन ऐन् २०७४को दफा ४७(१) अनुसार न्यायिक समितिलाई विवादको निरुपण गर्ने अधिकार, न्यायिक समितिले विवादको निरुपण गर्ने अन्य कानूनहरुमा तोकिएका व्यवस्थाहरु, स्थानीय सरकार सञ्चालन ऐन् २०७४को दफा ४७(२) र कानूनमा भएका व्यवस्था, प्रचलित कानून बमोजिम मेलमिलाप हुन सक्ने व्यक्ति वादी भई दायर हुने अन्य देवानी र एक वर्षसम्म कैद हुने फौजदारी विवादहरुलगायतको विषयवस्तु बारे सहजिकरण गरिएको थियो ।
सोही कार्यक्रम शुक्रबार अर्जुनधारा–३ नं. वडा र शनिबार अर्जुनधारा–१ नं. वडामा सञ्चालन हुने कार्यतालिका रहेको छ । समितिका सदस्य काफ्लेले कार्यक्रमको औचित्य बारे प्रकाश पारेको उक्त कार्यक्रममा स्वागत मन्तव्य अर्का सदस्य शर्मिला सुब्बाले व्यक्त गरेकी थिइन् । उक्त कार्यक्रमको सञ्चालन अधिकृत ऐरले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *