April 29, 2026

निःशुल्क स्वास्थ्य शिविरमा १५५ महिलाको परीक्षण, ४ जनामा क्यान्सरको संकेत

0

झापा, साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड–१ को आयोजनामा महिलाहरूका लागि पाठेघरको मुखको क्यान्सर सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। 

बिर्तामोड–१ स्थित रत्न सावित्री उत्सव बस्नेत प्रतिष्ठानमा आयोजित शिविरमा १५५ जना महिलाको भि.आई.ए. (VIA) परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये ४ जनामा पोजिटिभ देखिएको संस्थाकी अध्यक्ष देविका निरौला बस्नेतले जानकारी दिइन्।

उनका अनुसार पोजिटिभ देखिएका महिलालाई थप उपचारका लागि बिर्तासिटी अस्पतालमा बोलाइएको छ।

शिविरमा बिर्तासिटी अस्पताल र विमुक्ति फाउन्डेशन बिर्तामोडको सहयोग रहेको थियो। स्वास्थ्य परीक्षण बिर्तासिटी अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. अजय अग्रवाल, मेडिकल अफिसर डा. प्रिया मिश्रा तथा नेपाल परिवार नियोजन संघकी भि.आई.ए. विशेषज्ञ डा. प्रमिला गौतमसहितको टोलीले गरेको थियो।

कार्यक्रम बिर्तामोड नगरपालिका–१ का वडाध्यक्ष अग्नीप्रसाद पाण्डेको प्रमुख आतिथ्य तथा संस्थाकी अध्यक्ष बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो। उद्घाटन कार्यक्रममा बिर्तासिटी अस्पतालका को–फाउन्डर डा. रेशबहादुर बस्नेत, डा. रोमी बुढाथोकी बस्नेतलगायतको उपस्थिति रहेको थियो।

सहकारी संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *