June 15, 2026

कांग्रेसको ‘जरा अभियान’ झापामा सक्रिय, क्रियाशील सदस्य अद्यावधिकमा जोड

0

झापा । नेपाली कांग्रेसले संगठन सुदृढीकरण तथा क्रियाशील सदस्यता व्यवस्थापनलाई लक्षित गर्दै सुरु गरेको ‘जरा अभियान’ झापामा पनि सक्रिय रूपमा अघि बढाइएको छ।

अभियानअन्तर्गत पार्टीका कार्यवाहक सदस्य, क्रियाशील सदस्यता, संगठनात्मक संरचना तथा डिजिटल व्यवस्थापनलाई सुदृढ गर्ने उद्देश्यसहित बृहद बैठक सम्पन्न गरिएको छ। कार्यक्रममा केन्द्रीय प्रतिनिधि बसन्त भट्टराई र रुद्रबहादुर कन्दङ्वाको उपस्थितिमा छलफल भएको हो।

कार्यक्रममा बोल्दै केन्द्रीय प्रतिनिधि बसन्त भट्टराईले पार्टीलाई नयाँ प्रविधिमैत्री बनाउँदै अनुशासन, नीति र सिद्धान्तअनुसार संगठनलाई अघि बढाउनुपर्नेमा जोड दिए। उनले क्रियाशील सदस्यताको अद्यावधिक, पारदर्शिता र डिजिटल प्रणालीमार्फत व्यवस्थापन आवश्यक रहेको बताए।

त्यस्तै अर्का केन्द्रीय प्रतिनिधि रुद्रबहादुर कन्दङ्वाले कांग्रेसले लोकतन्त्र, राष्ट्रियता र संगठनात्मक एकतालाई बलियो बनाउँदै अगाडि बढ्नुपर्ने धारणा राखे।

कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले अभियानलाई सफल बनाउन सबै क्षेत्रीय, प्रदेश तथा स्थानीय तहका समिति सक्रिय हुनुपर्ने बताए। उनले समयमै क्रियाशील सदस्यता व्यवस्थापन सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए।

उपसभापति तथा झापा क्षेत्र नं। १ का प्रतिनिधिसभा उम्मेदवार केशवराज पाण्डेले पार्टीभित्रको एकता मजबुत पार्दै आलोचनाभन्दा माथि उठेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

त्यसैगरी कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधि तथा नेताहरूले पार्टी सुदृढीकरण, संगठन विस्तार र आगामी राजनीतिक रणनीतिबारे आ–आफ्ना धारणा राखेका थिए।

पार्टीका नेताहरूले ‘जरा अभियान’ वडा तहसम्म विस्तार गर्दै क्रियाशील सदस्यता अद्यावधिक, संगठन सुदृढीकरण र डिजिटल प्रणाली लागू गर्ने लक्ष्य लिइएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *