June 13, 2026

नमूनामा उपभोक्ताहरुको आम्दानी वृद्धि गर्न मौरीपालन कार्यक्रम

0
अर्जुनधारा ।
 
आयमुलक कार्यक्रममार्फत् समूहमा आबद्ध उपभोक्ताहरुको आम्दानीमा वृद्धि गर्ने उद्देश्यले झापाको अर्जुनधारा नगरपालिका–९स्थित नमूना सामुदायिक वन उपभोक्ता समूहले मौरीपालन कार्यक्रम सुरु गरेको छ ।
समूहसँगै अर्जुनधारा नगर मानव हात्ती द्वन्द न्यूनीकरण उपभोक्ता समिति, सुखानी शहीद स्मृति प्रतिष्ठान नेपाल र उपभोक्ताको संयुक्त साझेदारीमा उक्त कार्यक्रम सुरु गरिएको समूहका अध्यक्ष जागिरमान राईले जानकारी दिए ।
अध्यक्ष राईका अनुसार पहिलो चरणमा मानव हात्ती द्वन्द न्यूनीकरण उपभोक्ता समितिको एक लाख ५० हजार रुपैयाँ, प्रतिष्ठानको ६० हजार रुपैयाँ, समूहको ४५ हजार रुपैयाँ र मौरीपालनका लागि छनौट भएका २५ जना उपभोक्ताबाट ४५ हजार रुपैयाँसहित जम्मा तीन लाख रुपैयाँको लागतमा कार्यक्रम सुरु गरिएको हो ।
समूहका अध्यक्ष राईको अध्यक्षता र प्रतिष्ठानका केन्द्रीय सदस्य बाबुराम घिमिरेको प्रमुख आतिथ्यमा आइतबार आयोजित कार्यक्रममा २५ थान मौरीसहितको घार वितरण गरिएको थियो । वितरण गरिएको मौरी मेलिफेरा प्रजातीको हो ।
कार्यक्रममा अर्जुनधारा नगर कार्यपालिका सदस्य गौरीमाया चिमरीया, नगर सभा सदस्य पूर्णबहादुर राई, मानव हात्ती द्वन्द न्यूनीकरण उपभोक्ता समिति अर्जुनधाराका सचिव धनबहादुर तामाङ, सुखानी शहीद स्मृति उद्यान व्यवस्थापन समितिका अध्यक्ष भैरवबहादुर खड्का, अर्जुनधारा नगर सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष भानुभक्त श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।
सोही कार्यक्रममा मौरीपालन कार्यक्रमका लागि छनौट भएका उपभोक्ताहरुलाई एक दिने तालिम पनि सञ्चालन गरिएको थियो । तालिमको सहजिकरण सहजकर्ता कृषि प्रसार अधिकृत सुवास दाहालले गरेका थिए । समूहकी कोषाध्यक्ष मीनादेवी कार्कीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव मोहन चौलागाईंले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *