June 15, 2026

अग्रज पत्रकार गोविन्द चन्द्र क्षेत्री अस्पताल भर्ना

0

झापा , झापाका अग्रज पत्रकार गोविन्द चन्द्र क्षेत्री बिरामी भएपछि अस्पताल भर्ना भएका छन्। ८२ वर्षीय क्षेत्रीलाई भद्रपुरस्थित ओम् साई पाथीभरा हस्पिटलमा उपचारका लागि भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ।

केही समयदेखि नशा र मुटुसम्बन्धी रोगबाट पीडित रहेका क्षेत्रीको शरीरमा सोडियम र हेमोग्लोबिनको कमी देखिएको चिकित्सकले बताएका छन्। हाल स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको छ।

छ दशकभन्दा बढी समय पत्रकारितामा सक्रिय क्षेत्री झापाका पुराना र सम्मानित सञ्चारकर्मीका रूपमा परिचित छन्। नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व सभापति रहेका उनले प्रेस युनियनमा आबद्ध रहँदै विभिन्न जिम्मेवारी सम्हालेका थिए।

काठमाडौंबाट प्रकाशित अंग्रेजी दैनिक ‘द हिमालयन टाइम्स’ का झापा संवाददाता रहनुका साथै भद्रपुरबाट प्रकाशित ‘नयाँ सन्दर्भ’ साप्ताहिकका सम्पादक–प्रकाशकका रूपमा पनि काम गरेका छन्। प्रेस क्लब भद्रपुरको नेतृत्व सम्हाल्दै उनले पत्रकारिता प्रशिक्षण तथा आचारसंहितासम्बन्धी गतिविधिमा सक्रिय भूमिका खेलेका थिए।

पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानका लागि क्षेत्री ‘मोती पत्रकारिता पुरस्कार’ सहित विभिन्न सम्मानबाट सम्मानित भएका छन्। हाल पनि ज्येष्ठ पत्रकारका रूपमा सार्वजनिक जीवनमा सक्रिय छन्।

चिकित्सकका अनुसार आइतबारसम्म अस्पतालमै राखेर उपचार गरिनेछ। त्यसपछि स्वास्थ्य अवस्थाबारे थप जानकारी दिइने परिवारले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *