रमाइलोका पीडितको हातमा जग्गाको विवरण, बचत फिर्ता भएन
विराटनगर, मोरङको कानेपोखरी–६, रमाइलो बजारमा रहेको शुभलक्ष्मी अधिकारी सुनचाँदी पसल बाट ठगिएका २५० भन्दा बढी सर्वसाधारणको हातमा अहिले एउटा महत्वपूर्ण दस्तावेज छ— परिवारको नाममा रहेको ९ कित्ता जग्गाको पूर्ण विवरण । तर, सम्पत्तिको स्रोत र विवरण फेला पर्दा पनि आफ्नो रगत–पसिनाको कमाइ कसरी फिर्ता लिने भन्नेमा पीडितहरू अझै अन्यौलमा छन् ।
पीडितहरूसँग कानेपोखरी–६ का वडाध्यक्ष खड्गबहादुर बस्नेतको रोहबरमा बाटुलादेवी अधिकारीले गरिदिएको लिखित कागज पनि छ, जसमा आफ्नो नामको सम्पत्तिबाट ऋण तिर्ने प्रतिबद्धता जनाइएको छ । तर, न त जग्गा बिक्री गरेर पैसा फिर्ता गर्ने प्रक्रिया अघि बढेको छ, न त राज्यका निकायले नै उनीहरूलाई ठोस सहयोग गरेका छन् ।
आफ्नो लाखौं रुपैयाँ डुबेपछि न्यायका लागि भौतारिएका पीडितहरू मंगलबार इलाका प्रहरी कार्यालय पथरी पुगेका थिए । तर, प्रहरीले ‘पर्याप्त प्रमाण नपुग्ने’ भन्दै ठगीको उजुरी दर्ता गर्न अस्वीकार गरिदियो । पीडित विष्णु गिरीका अनुसार प्रहरीले उजुरी लिन नमानेपछि उनीहरू थप निराश बनेका छन् । यता, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी तुलसीराम अर्याल भने कानुनी प्रमाणको अभाव देखाउँदै पन्छिरहेका छन् ।
प्रहरीले मात्र होइन कानेपोखरी गाउँपालिकाको न्यायिक समितिले पनि यस विषयमा कुनै स्पष्ट जवाफ दिन सकेको छैन । महिनौँ अघि निवेदन दिए पनि न्यायिक समितिले न त समाधानको बाटो देखाएको छ, न त क्षेत्राधिकारको विषयमा पीडितलाई स्पष्ट नै पारेको छ । न्यायिक समितिका संयोजक समेत रहेका पालिकाका उपाध्यक्ष भोला अधिकारीले आफूहरुले छलफल गरेपनि समाधान दिन नसकेको बताए ।
पीडितहरूले फेला पारेको विवरण अनुसार बाटुलादेवी अधिकारीको नाममा बयरवन र इटहरी लगायतका ठाउँमा ९ वटा कित्तामा जग्गा छ । वडा कार्यालयको रोहबरमा भएको सहमति अनुसार ती जग्गाबाट बचत फिर्ता हुनुपर्ने हो । तर, पीडितहरूबीच नै कसरी र कसले यो प्रक्रियाको नेतृत्व गर्ने भन्नेमा एकमत हुन सकेको छैन । यही विवाद र कानुनी अन्यौलको फाइदा उठाउँदै फरार सञ्चालक मनोज अधिकारी र उनको परिवार पन्छिने कोसिस गरिरहेका छन् ।
यो ठगीको श्रृङ्खला करिब २० वर्ष अगाडिदेखि सुरु भएको थियो । अधिकारी परिवारले सुन पसलको आवरणमा अवैध रुपमा सर्वसाधारणबाट बचत संकलन गर्दै आएका थिए । बैंकभन्दा बढी ब्याज दिने प्रलोभनमा परेर मजदुर, वृद्धवृद्धा र वैदेशिक रोजगारीमा रहेका परिवारले आफ्नो जीवनभरको कमाइ त्यहाँ बुझाएका थिए ।
यो ठगी प्रकरण कति सम्म दर्दनाक छ भन्ने उदाहरण ८३ वर्षीय चक्रबहादुर गुरुङ हुन् । आफ्नो ९ लाख रुपैयाँ फिर्ता पाउने आशमा दिनहुँ बन्द सटर कुरेर बस्ने गुरुङले अन्ततः न्याय नपाई प्राण त्यागे । उनीजस्ता धेरै पीडितहरू अहिले डिप्रेशन र आर्थिक अभावको चपेटामा छन् ।
सञ्चालक मनोज अधिकारी आक्कल झुक्कल देखिन्छन् तर, समाधान दिँदैनन् । उनका बुबा होमनाथ अधिकारी अमेरिकामा छन् । पीडितहरूको दाबी छ कि उनीहरूले सर्वसाधारणको करोडौँ रकम अमेरिका पु¥याएका छन् । हाल घरमा रहेकी बाटुलादेवी र बुहारी स्मिता अधिकारीले आलटाल गरिरहेका छन् । राज्यका निकायहरू—प्रहरी, अदालत र पालिका—एकअर्कालाई देखाएर पन्छिँदा रमाइलो बजारका सयौँ परिवारको बिचल्ली भएको छ ।
