June 17, 2026

भद्रपुरमा नेपाल–भारत महिला टी–२० फ्रेन्डसिप कप : सिलिगुडी च्याम्पियन

0

झापा । झापाको भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा सम्पन्न नेपाल–भारत मैत्रीपूर्ण महिला टी–२० प्रतियोगिताको उपाधि भारतको डुन हेरिटेज सिलिगुडीले जितेको छ।

शनिबार भएको फाइनल खेलमा सिलिगुडीले भारतकै अल्पाइन स्पोर्टिङ क्लब सिक्किमलाई २ रनले पराजित गर्दै उपाधि उचालेको हो। वर्षाका कारण खेल १० ओभरमा सीमित गरिएको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको सिलिगुडीले निर्धारित १० ओभरमा ७४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको सिक्किमले १० ओभरमा ७२ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा ११ रन आवश्यक रहेको अवस्थामा सिक्किमले ९ रन मात्रै जोड्न सकेपछि सिलिगुडी विजयी बनेको हो।

नेपाल–भारत मैत्री संघ कोशी प्रदेशको आयोजनामा पहिलोपटक सम्पन्न प्रतियोगिताको उपाधिसँगै सिलिगुडीले नगद ८० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्‍यो। उपविजेता सिक्किमले नगद ५० हजारसहित ट्रफी हात पार्यो। प्रतियोगितामा सहभागी नेपालका मिलन क्रिकेट क्लब झापाले तेस्रो स्थान हासिल गर्दै १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्‍यो।

फाइनल खेलको ‘म्यान अफ द म्याच’ सिलिगुडीकी तनुजा सरकार घोषित भइन्। प्रतियोगिताको उत्कृष्ट ब्याटर र बलरसमेत विजेता टोलीकै खेलाडीहरू बने भने ‘म्यान अफ द सिरिज’ उपविजेता टोलीकी मरीन सुब्बाले प्राप्त गरिन्।

समापन समारोहमा नेपालका लागि भारतीय दूतावासका प्रथम सचिव वशिष्ठ नन्दन, नेपाल–भारत मैत्री संघका केन्द्रीय अध्यक्ष शैलेन्द्र मोहन झा, पूर्वअध्यक्ष ओमप्रकाश सरावगी, उपाध्यक्ष बोधकृष्ण सुवेदी, कोषाध्यक्ष अरुणकुमार सिंहलगायतले विजेता तथा खेलाडीहरूलाई ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वशिष्ठ नन्दनले खेलकुदमार्फत नेपाल–भारतबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे। उनले मेची क्याम्पस क्रिकेट मैदानको स्तरोन्नतिका लागि भारतीय दूतावासको तर्फबाट आवश्यक सहयोग गर्न पहल गर्ने बताए।

नेपाल–भारत मैत्री संघ कोशी प्रदेशका अध्यक्ष छत्रबहादुर गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव चन्द्रमणि पौडेलले गरेका थिए भने स्वागत मन्तव्य भद्रपुर–८ का वडाध्यक्ष गौरव सुब्बाले राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *