September 13, 2026

रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग

0

खोटाङ, दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको बलात्कारपछि हत्या भएको घटनाको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरिएको छ ।

संयुक्त दलित सङ्घर्ष समितिदलित महिला अभियान नेपालले संयुक्त रूपमा दोषीलाई तत्काल कानुनी कठघरामा उभ्याउन माग गर्दै निष्पक्ष छानबिनका लागि आग्रह गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत शम्शेरबहादुर राईले घटना भएको लामो समय बितिसक्दा पनि अनुसन्धानमा ढिलासुस्ती भएको भन्दै दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन मागसहित बुधबार ज्ञापनपत्र प्राप्त भएको जानकारी दिए ।

गत भदौ ३० गते साँझ पञ्चमी बजारमा सञ्चालित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत रेश्मिकाको कार्यालयबाट घर फर्किने क्रममा मार्से सामुदायिक वनको ह्याकुलेस्थित रमिते भन्ने स्थानमा बीभत्स अवस्थामा हत्या गरिएको शव फेला परेको थियो ।

प्रारम्भिक तथ्यले सामूहिक बलात्कारपछि हत्या भएको संकेत गरे पनि हालसम्म अभियुक्त पक्राउ नभएको भन्दै पीडित परिवार तथा दलित अधिकारकर्मीहरूले आपत्ति जनाउँदै आएका छन् ।

दीपक ठटालले घटनामा संलग्न भनिएका व्यक्तिहरू खुला रूपमा हिँडिरहेकाले पीडित परिवार असुरक्षित महसुस गरिरहेको बताए । उनीहरूलाई तत्काल सुरक्षा प्रदान गर्न पनि माग गरिएको छ ।

त्यस्तै सरस्वती रामदाम विश्वकर्माले बलात्कारपछि हत्या जस्तो जघन्य घटनाको निष्पक्ष र सूक्ष्म अनुसन्धानका लागि कुनै दबाब वा प्रभावबिना सत्यतथ्य सार्वजनिक गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *