September 14, 2026

भद्रपुरको दुई स्थानमा प्रहरीको छापा, ब्राउन सुगरसहित सात जना पक्राउ

0

झापा ।

झापाको भद्रपुरमा लागूऔषध ब्राउन सुगरसहित सात जना युवक पक्राउ परेका छन् । गएराति साढे ९ बजेको समयमा भद्रपुर नगरपालिका-६ का श्रवण यादवको घरमा लागूऔषध बिक्री वितरण हुने गरेको गोप्य सूचनाको आधारमा प्रहरी टोलीले छापा मारेको थियो ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी निरीक्षक मोतीलाल योन्जन तामाङ, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक विजय चौहान र लागूऔषध ब्युरो इकाई काँकडभिट्टाबाट प्रहरी नायव निरीक्षक कुमार सोमेश लामिछानेको कमान्डको संयुक्त टोलीले यादवको घर खानतलासी गर्दा भान्सा कोठामा रहेको किचन र्‍याकभित्र रहेको प्लास्टिकको बाल्टीमा कालो प्लास्टिकमा पोको पारी राखेको प्लास्टिक बाहेक ५० ग्राम ४३० मिली ब्राउन सुगर फेला पारेको थियो ।

ब्राउन सुगर फेला परेपछि प्रहरीले कारोबारी यादवसहित सोही ठाउँका २० वर्षीय गणेश राजवंशी र २६ वर्षीय प्रकाश राजवंशी पक्राउ गरेको छ । प्रहरी टोली यादवको घरमा लागुऔषध सेवनकर्ता भएर ब्राउन सुगर खरिद गर्न सादा पोसाकमा पुगेका थिए ।

त्यस्तै सोही प्रहरी टोलीले गएराति साढे १० बजे भद्रपुर नगरपालिका ५ भद्रपुर बसपार्क नजिकैबाट ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भद्रपुर-५ का ३० वर्षीय शुभम् साह, भद्रपुर-४ का ३० वर्षीय जयकरण कहार, भद्रपुर-६ का ३५ वर्षीय दुलाल शेख र सोही ठाउँका २९ वर्षीय मोहम्मद अमिरबाब रहेका छन् । पक्राउ परेका चारै जना ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा पक्राउ परेका थिए ।

प्रहरीले दुलाल सेखको साथबाट प्लास्टिकबाहेक १० ग्राम २०० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो । पक्राउ परेका सातै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय झापाका डीएसपी गुरुप्रसाद तिम्सिनाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *