June 13, 2026

मेरो प्रिय प्रहरी पोशाक

0

३० वर्षसम्म मेरो शरीरसँगै
घाम, पानी, आँधी र अँध्यारो रातहरू पार गरेको
मेरो प्रिय प्रहरी पोशाक-

आज भित्तामा झुन्डिएको छ,
तर त्यो केवल कपडा होइन,
मेरो जीवनको इतिहास हो।
कहिले ड्युटीको कठोर बाटो,
कहिले जनताको सुरक्षाको शपथ,
कहिले थकानभन्दा ठूलो कर्तव्यको आवाज—
यी सबै सम्झनाहरू
तिम्रो प्रत्येक धागोमा गाँसिएका छन्।
रातका निद्राहीन घडीहरू,
पसिनाले भिजेका दिनहरू,
र देशको सेवामा बितेका अनगिन्ती पलहरू—
तिमी सधैं मेरो साथमा थियौ।
आज अवकाश लिएर
तीन महिना पूरा भएछ।
समयले पोशाकलाई भित्तामा टाँसे पनि
मनको गर्वलाई कसैले टाँस्न सकेको छैन।
हे प्रिय नेपाल प्रहरीको पोशाक,
तिमी केवल पोशाक होइनौ—
तिमी मेरो कर्तव्य,
मेरो साहस,
र मेरो जीवनको सबैभन्दा ठूलो पहिचान हौ।
जब म तिमीलाई हेर्छु,
मेरो हृदय फेरि त्यही शपथ सम्झिन्छ—
देश र जनताको सेवामा
जीवन समर्पण गर्ने त्यो गर्व।
सास रहुन्जेल
तिम्रो सम्झना
मेरो आत्मामा जिउँदै रहनेछ।


पूर्वप्रहरी नायव निरीक्षक
शिवकुमार शर्मा (धिमाल)

Leave a Reply

Your email address will not be published. Required fields are marked *