April 30, 2026

ग्यासको अभाव छैन :उद्योग वाणिज्य सङ्घ

0

खोटाङ,

देशभर खाना पकाउन प्रयोग गरिने ग्यास अभाव भएको हल्ला चलिरहेको बेला खोटाङमा भने अभाव नरहेको बताइएको छ । इरान र अमेरिकाबीच जारी युद्धका कारण बाहिरबाट ग्यास नआए पनि जिल्लामा भने अभाव नभएको उद्योग वाणिज्य सङ्घले जनाएको हो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा रिजालको लगायतका ग्यास सिलिन्डर हालसम्म पर्याप्त रहेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनप्रसाद आचार्यले जानकारी दिनुभयो । “कम्पनीहरूले नपठाएका कारण जिल्लामा केही दिनअघिदेखि नोबेल ग्यास भने पर्याप्त मात्रामा थिएन । कटारीबाट ३०० वटा पठाएकाले तत्कालका लागि नोबेल ग्यास पनि अभाव हुँदैन”, उहाँले भन्नुभयो, “अहिले हरेक उपभोक्ताले आफ्नो घरमा दुईतीन वटासम्म ग्यास सिलिन्डर खरिद गरेर भण्डारण गरिराखेका छन् । इरान र अमेरिकामा चलिरहेको युद्ध लामो समयसम्म जारी रहेको खण्डमा भने जिल्लामा ग्याससँगै दैनिक उपभोग्य सामानको समेत अभाव हुने देखिन्छ । अन्यथा अहिले नै ग्यासलगायत कुनै पनि सामानको अभाव छैन ।”

खाना पकाउने ग्यास अभाव भएको बाहिरी हल्ला जिल्लावासीमा समेत फैलिएपछि विशेषगरी विद्यार्थीका लागि प्राथमिकतामा राखेर ग्यास वितरण गरिएको उद्योग वाणिज्य सङ्घले जनाएको छ । विद्यार्थी तथा कोठा भाडामा बस्दै आएका कर्मचारीको समस्यालाई मध्यनजर गर्दै एउटामात्र ग्यास सिलिन्डर हुनेलाई प्राथमिकता दिएर वितरण गर्नेगरी तयारी गरिएको वाणिज्य सङ्घका अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

ग्यास चुलोले छिटो, सजिलो र सस्तो गरी खाना पकाउन सकिने भएपछि गाउँका अधिकांश स्थानीयले दाउरा प्रयोग गरेर खाना पकाउन छाडिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका दिलकुमार राईले बताउनुभएको छ । “ग्यास अभाव भएको हल्ला गाउँसम्म नै फैलिएको छ । ग्यास चुलोका कारण धेरैको घरमा आगो बाल्ने अगेनासमेत हटाइसकिएको छ”, उहाँले भन्नुभयो, “यदि साँच्चिकै अभाव भएको खण्डमा वृद्धवृद्धामात्रै बसेको घरमा समस्या हुने देखिन्छ । अन्यमा खासै प्रभाव पर्दैन ।”

जिल्लामा ग्यास तथा दैनिक उपभोग्यवस्तुको कृत्रिम अभाव एवं कालोबजारी नगर्न जिल्ला प्रशासन कार्यालय खोटाङले व्यापारीलाई आग्रह गरेको छ । कृत्रिम अभाव एवं कालोबजारी गरेको खण्डमा कडाभन्दा कडा कारबाही गरिने गरिएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *