April 30, 2026
वाशुदेव अधिकारी

सिस्नुको झ्याङमा
निगुरो पलाएको छ
आफ्नो आङको
भैंसी नदेख्नेले पनि
अरूको लिखा
टिप्न छोडेको छ
परेला झिम्क्याउँदै
आँखा नचाउँदै
कानेखुशी गर्नेका
जुँगा हल्लिन छोडेको छ
दम्भ घमण्ड र अहंकारले
घुँडा टेकेको छ
मपाईँत्वको डढेलो पछि
स्वतन्त्रताका मुनाहरू
प्रत्येक खोरियामा पलाएको छ
साँचिकै लोकतन्त्र बचेको छ ।
अबको काम भनेको
देशले काँचुली फेर्नुछ
अनेकतामा एकताको
सन्देश छर्नुछ
खुन पसिना र
आँसुको मूल्य खोज्नुछ
अरिङ्गालको सिकार होइन
मौरीको मह काढ्नुछ
अरूको ढाडमा टेकेर
सिंहदरबार चढ्नुभन्दा
आफ्नै पैतालाले
सगरमाथा चढ्नुछ
निरङ्कुशताको झाडी फाँडेर
स्वन्त्रताको खेती गर्नुछ
सहिदको सपना
साकार पार्दै अघि वढ्न
साँच्चिकै लोकतन्त्र बचेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *