September 13, 2026

झापा–२ मा प्रसाईंको घरदैलो तीव्र : ‘मन जितिसकेँ, अब मत जित्छु’

0

झापा । नेपाली काँग्रेस झापा क्षेत्र नम्बर–२ की प्रत्यक्षतर्फ उम्मेदवार सरीता प्रसाईंले आफूले क्षेत्रका मतदाताको मन जितिसकेको दाबी गर्दै अब मतबाट पनि विजयी हुने विश्वास व्यक्त गरेकी छन्। 

घरदैलो तथा चुनावी कार्यक्रममा बोल्दै प्रसाईंले झापा–२ का जनताको आवश्यकता केन्द्रमा राखेर विकासका कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाइन्। उनले कृषिजन्य उत्पादनको बजारीकरण, सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने, सबै नागरिकमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने तथा महिला सशक्तीकरणलाई प्राथमिकता दिने योजना सार्वजनिक गरिन्।

महिलाले उत्पादन गरेका सामग्रीलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने, विकास निर्माण र ऊर्जा क्षेत्रको विस्तार, फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउने तथा अव्यवस्थित सुकुम्बासी समस्याको समाधान गर्ने उनको प्रतिबद्धता छ। साथै भ्रष्टाचारमुक्त सुशासन कायम गर्दै जनजी आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने उनले बताइन्।

झापा–२ का नागरिकको हकअधिकारका लागि लड्ने उद्देश्यले उम्मेदवारी दिएको उल्लेख गर्दै प्रसाईंले आफूले कहिल्यै भ्रष्टाचार नगर्ने र देशको हितमा काम गर्ने प्रतिबद्धता दोहोर्याइन्। घरदैलो अभियानका क्रममा मतदाताले नेपाली काँग्रेस एकढिक्का बनेको भन्दै सकारात्मक प्रतिक्रिया दिएको उनले बताइन्।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी, कोशी प्रदेश सभापति उद्धव थापा तथा झापा सचिव कृष्ण हुमागाईले प्रत्यक्षतर्फकी उम्मेदवार सरीता प्रसाईं र समानुपातिकतर्फका उम्मेदवार उमा शिवाकोटी तथा मनमाया विश्वकर्मालाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको सहजीकरण नेपाली काँग्रेस झापा क्षेत्र नम्बर–२ निर्वाचन परिचालन समिति संयोजक खगेन्द्र मैनालीले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *