September 13, 2026

एआई प्रयोग गरी भ्रम फैलाउनेमाथि कारबाही प्रक्रिया अघि बढ्यो – सहायक प्रजिअ प्रसाई

0

झापा  । झापामा प्रतिनिधिसभा सदस्य निर्वाचनसँग जोडेर एआई प्रविधिको दुरुपयोग गर्दै भ्रामक समाचार र तस्वीर प्रयोग गरी भ्रम फैलाउने कार्यमा संलग्नमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले आज एक सूचना जारी गर्दै झापा निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत कमल गाउँपालिका–२ क्याम्पा बजारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वालेन्द्र शाह (बालेन) को सम्पर्क कार्यालय नजिकैको एक घरमा माघ २१ गते राति करिब १२ः१५ बजे ढुङ्गा प्रहार हुँदा झ्यालको सिसा फुटेको घटनाबारे जाहेरी परेपछि अनुसन्धान सुरु गरिएको जनाएको छ ।

उक्त घटनालाई लिएर वास्तविक अवस्था भन्दा फरक देखिने गरी एआई प्रयोग गरेर गम्भीर प्रकृतिको तोडफोड भएको जस्तो तस्वीर तयार पारेर सामाजिक सञ्जालमा फैलाइएको पाइएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

त्यसरी भ्रामक सूचना प्रवाह गर्ने व्यक्ति वा समूहको पहिचान गरी कारबाही गर्न सम्बन्धित निकायमा पत्राचार गरिसकिएको जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले जानकारी दिए ।

निर्वाचनको संवेदनशील समयमा गलत सूचना फैलाएर जनमत प्रभावित गर्ने प्रयास गम्भीर अपराध भएको उल्लेख गर्दै यस्ता गतिविधिमा संलग्न जोसुकैलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने उनको भनाइ छ ।

वास्तविक घटनाका तस्वीर र एआई प्रयोग गरी भ्रम फैलाउन बनाइएका तस्वीर छुट्टाछुट्टै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय झापाले नागरिकलाई सचेत रहन आग्रह गरेको छ । साथै, भ्रामक समाचार र अफवाहप्रति विश्वास नगरी आधिकारिक सूचनामै भर पर्न सबैमा अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *