April 30, 2026

झापामा ओलीलाई झट्काः डा.रामबाबु गिरीद्वारा पार्टी परित्याग,बालेनलाई सघाउने घोषणा

0

झापा । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई साथ छाड्को लर्को लाग्न थालेको छ । एक पछि अर्का विश्वासका पात्रहरुले साथ छाड्न थालेका हुन् ।

यसैक्रममा पूर्वप्रधानमन्त्री ओलीका अति निकट विश्वासपात्र तथा नेकपा एमालेका नेता डा. रामबाबु गिरीले पार्टी परित्याग गर्ने घोषणा गरेका छन्।

उनले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रधानमन्त्री पदका उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई सघाउने घोषणा समेत गरेका छन् । झापास्थित बीएण्डसी मेडिकल कलेजका अध्यक्षसमेत रहेका डा. गिरीको झापा जिल्लामा उल्लेखनीय राजनीतिक तथा सामाजिक प्रभाव रहेको स्थानीयहरू बताउँछन्।

एमालेभित्र ओलीका निकट सल्लाहकार मानिने डा. गिरीले निर्वाचनको मुखमा पार्टी छाड्नु एमालेका लागि ठूलो राजनीतिक झट्का मानिएको छ। स्थानीय तहमा मात्रै होइन, झापामा माओवादी केन्द्र, राप्रपालगायत विभिन्न राजनीतिक दल, झापा उद्योग वाणिज्य संघ तथा उद्योगी–व्यापारी समुदायमा समेत डा. गिरीको बलियो पकड रहेको बताइन्छ।

एमालेबाट राजीनामा दिएको पुष्टि गर्दै डा. गिरीले आफू परिवर्तनको पक्षमा रहेको बताएका छन्। देशको वर्तमान अवस्थाका लागि केपी शर्मा ओलीलाई मुख्य जिम्मेवार ठहर गर्दै उनले अब देशको नेतृत्व युवा पुस्ताले लिनुपर्ने धारणा राखे।

डा. गिरीले झापा–५ मा ओलीलाई नभई बालेनलाई सघाउने र झापा जिल्ला मात्र नभई प्रदेशभर राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा प्रचार–प्रसार गर्ने बताएका छन्। परिवर्तनको यस घडीमा आफ्नो सम्पूर्ण शक्ति बालेन शाहलाई प्रधानमन्त्री बनाउन केन्द्रित गर्ने उनको भनाइ छ। यस अघि हिजो मात्रै युवा संघ दकमका अध्यक्षले एमाले पार्टी परित्या गरेर बालेनलाई समर्थन गर्ने घोषणा गरेका थिए । त्यस्तै स्थानीय नेताहरुले समेत ओलीको साथ छाड्न थालेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *