September 14, 2026

नेपाली युवा र वैदेशिक रोजगार

0

narayan copy

नेपाली जनताले करिब ६५ बर्षपछि आफ्नै प्रतिनिधि छानेर नयाँ संविधान पाए । त्यस पश्चात नेपालीले खुशी र शान्ति पाउने सपना देख्नु स्वभाविक पनि हो । तर जति पटक सरकार फेरिए पनि, जुन पार्टीको नेतृत्वमा सरकार आए पनि नेपाली जनताले पाउने भनेको सरकारकातर्फबाट दिइने चिल्ला र लोभ लाग्दा आश्वासन मात्र हो रहेछ । हरेक नेपाली आफ्नो जीबिका कसरी चलाउने भन्ने बारे अन्यौलमा छ । महंगी बढेको बढ्यै छ । आम्दानीको कुनै श्रोत छैन । जति पढे लेखे पनि जागिर पाउन कि त माथिल्लो तहमा आफ्नै मान्छे हुनु प¥यो कि त पैसा टन्न खुवाउन सक्नुपर्छ नत्र उही सास्ती, बेरोजगारी समस्याले गाँझेपछि के गर्ने ? मर्नु भएन एक पेट खानै प¥यो, जहान परिवार पाल्नै प¥यो । घरमा बसे कि राजनीतिक पार्टीको झण्डा बोक्नुप¥यो, कि वाईसीएल, कि युथफोर्स नत्र तरुण दलमा हिंड्नु प¥यो  । सानो–सानो कुरामा हुने गरेको बन्द, हड्ताल, चक्काजाम र बिरोधको संस्कारले गर्दा केही पेशा गरेर खाने वातावरण पनि छैन । स–साना विषयमा पनि आन्दोलन गर्ने प्रवृत्ति रोकिएको छैन झन्–झन् मौलाउँदै गएको छ । गल्ती गर्नेलाई कारबाही गरे कुनै राजनीतिक पार्टीको कार्यकर्ता भए अपराधीलाई छुटाउन उनै राजनीतिक पार्टीको बिरोध जुलुस नानाथरी आन्दोलन, नेपाल बन्द गर्न राजनीतिक दलहरु नै अघि सरिहाल्छन् । यस्तो देशको परिस्थितिमा सोझा–सिधा जनता जो कुनै राजनीतिक पार्टीको आडमा रहेर बस्न चाहँदैनन् अब उनीहरु के गर्ने त ?
काम गरौं नेपाल बन्द र हड्ताल, रोजगारीको कुनै अवसर नै छैन अनि  RojGar copyबाध्य भएर उनीहरु बिदेशिन पुग्छन् । वर्षेनि लाखौं नेपाली बिदेशिएका हुन्छन, महङ्गो ब्याजमा ऋण काढेर ‘अरब गएर खरब कमाउने’ सपना बोकेर कस्तो काम हो, तलब कति हो, के को लागि बिदेश जाने कुनै कुरा नबुझी दलालको प्रलोभनमा परेर जीवन लाई सहज र खुशी तरिकाले चलाउने सपना बोकेर दलाललाई पैसा बुझाएर मलेशिया लगायत खाडी मुलुक साउदी, कुबेत, दुबई, कतार लगायतका देशहरुमा रोजगारीको लागि जान्छन् नेपाली युवा  ।
बिदेश जान पाए त आकाशको तारा नै खसाउँथे, बिदेशमा पैसाको बोट नै हुन्छ, नेपालबाट उड्न मात्र पाए टप्प टिपेर ल्याउँथे जस्ता सपना देखेर प्रदेशिन बाध्य हुन्छौं हामी नेपाली । कति त छरछिमेकीको देखेर रामेले कतारबाट टन्न दाम ल्याएर घडेरी किन्यो रे, माथिल्लो घरको हर्केले दुबईबाट आएर शहरमा घर किन्यो रे, पल्लो घरको भुन्टेले साउदीमा मस्त दाम कमाएको छ रे त्यसैले छोराछोरी बोर्डिङ्ग स्कुलमा पढाउन थाल्यो रे जस्ता कुराले पनि बिदेश जाने सपना देखेका हुन्छन्, रहर बोकेका हुन्छन् तर बिदेशमा आइसकेपछि बल्ल उनीहरुले चाल पाउँछन् अनि भगवान पुकार्न थाल्छन् ।
मलेसियाको हकमा जब उनीहरु एयरपोर्टमा आइ पुग्छन् । त्यहाँ नेपाली नागरिकप्रति त्यहाँको प्रहरी र कर्मचारीले गरेको व्यबहार ज्याँदै नै कष्टकर हुन्छ त्यस माथि पनि मलेसियाको भाषा नजानेर हरेक नेपालीले दुव्र्यवहार खेप्नुपरेको छ दैनिक । आफ्नो जन्मभूमि, आफ्नो परिवार, उकाली ओराली, भन्ज्याङ्ग चौतारी, त्यो रोधि घर अनि हरियाली वातावरण अनि आफ्नै रहन–सहन, आफ्नै परिवेश सम्झँदै बिदेश आउने पैसाले नेपालमै लगानी गरेको भए केही त गर्न सकिन्थ्यो, जहान परिवारको साथमा रमाइन्थ्यो जस्तो हरेक नेपालीले कल्पना गर्छन् ।
बिदेशिने नेपाली केहीले मात्र सजिलो काम राम्रो दाम, समयमै तलब पाएका होलान् । तर धेरै जसो नेपाली यी सबै कुराबाट पीडित छन् । ‘नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छो बाउको अनुहार’ भनें झैं दलाललाई लाखौं रुपैयाँ चढाएर आएको फर्केर जाउँ भने पैसा फिर्ता पनि पाइँदैन, नेपालको स्थितिले वाक्क भएर बिदेशिएको तर अरु कुरै छोडौं आएको ऋण तिर्न पनि बर्सौ कुर्नुपर्छ । मरुभूमिमा भेंडा, उँट हेर्ने, झाडुदेखि रोड सफा गर्ने काम नेपालीको भागमा पर्दछ । त्यति मात्र होइन समयमा तलब नपाउने, खान समयमा नपाइने, मालिकको शोषण, अत्याचार, कुटाइ–पिटाइ खेप्नु परेको छ नेपालीले । त्यसमा पनि मलेसियामा एक सालमा ४२५ जनाको ज्यान गएको तथ्यांक छ मलेसियास्थित नेपाली राजदूतावाससँग ।
अझै कामदारका रुपमा रहेका नेपाली चेलिबेटीको हालत झनै कष्टकर र पीडादायी रहेको छ मलेसियामा । कति बिदेशी दलालको शारीरिक तथा मानसिक यातना सहन बाध्य छन् त कति दलालको फन्दामा परि कोठीहरुमा सजिन पुगेका छन् । कतिले पीडा सहन नसकेर ज्यानै पनि गुमाएका छन् । के यसको बारेमा हाम्रा राजनीतिक दल र मै हुँ नेपाली राजनीतिक हस्ती भन्नेहरुलाई बैदेशिक रोजगारीमा जाने नेपालीले सास्ती खेप्नु परेको बारेमा थाह होला त ? कुनै चासो लिएका होलान् त ? किन लिन्थे सात पुस्तालाई पुग्ने सम्पत्ति जोडे, महलमा बसेका छन्, महंगो महंगो गाडीमा कुदेका छन्, छोराछोरी बिदेशमा पढाएका छन्, जनताका छोराछोरी औषधि नपाएर अकालमा ज्यान गुमाउनु परेको छ तर राजनीतिक पार्टीका नेताहरु सामान्य बिरामी हुँदा औषधि उपचार गर्न बिदेश जान्छन् होइन र ? लौन भगवान हाम्रा नेताजीहरुको घैंटोमा घाम लगाइदेउ, देशमा शान्ति गराइदेउ, बन्द हड्ताल सधैंको लागि अन्त्य गरिदेउ, सबै नेपाली सुख र शान्तिले परिवारको साथ पाखुरा बजारेर खाने बस्ने वातावरण बनाइदेउ । त्यति मात्र भए पनि हामी नेपालीलाई पुग्ने थियो । यसरी बिदेशी अञ्जान भूमिमा रोएर बस्नु त पर्ने थिएन । आफ्नै जन्म्भूमिमा रमाउन पाउने थियौं ।
aryalnarayan123@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *