पाठकको मन जित्दै उपन्यास विविशारा : चितवनमा पनि ‘विविशारा’ माथि विमर्श
मोरङ,

चितवनमा आख्यानकार छवि वैरागी घिमिरेको नयाँ उपन्यास विविशारा माथि विमर्श कार्यक्रम सम्पन्न भएको छ। सम्पूर्ण किताब नारायणगढको आयोजनामा आइतबार आयोजित उक्त कार्यक्रममा समालोचक उदय अधिकारी र धनराज गिरीले उपन्यासमाथि समीक्षात्मक टिप्पणी गर्नुभएकाे थियाे ।
समालोचक उदय अधिकारीले विविशाराले सहरी संस्कृतिले जन्माएका विकृति र विसङ्गतिलाई सूक्ष्म ढंगले प्रस्तुत गरेको बताउनुभयाे। उहाँका अनुसार उपन्यासले आधुनिक सहरिया जीवनको देखिने चमकभित्र लुकेका खोक्रोपन, एक्लोपन र नैतिक द्वन्द्वलाई यथार्थपरक ढंगले उजागर गरेको छ। “लेखकले वर्तमान समाजको यथार्थलाई कलात्मक तर गहिरो रूपमा आख्यानमा उतारेका छन्,” अधिकारीले भन्नुभयाे ।
समालोचक धनराज गिरीले उपन्यासको कथ्य र संरचनामाथि टिप्पणी गर्दै विविशारा समकालीन नेपाली उपन्यासको प्रवृत्तिसँग संवाद गर्न सक्ने कृति भएको बताउनुभयाे । उहाँले पात्रहरूको मनोवैज्ञानिक चित्रण, भाषिक संयम र कथावाचनको लय उपन्यासका सबल पक्ष भएको उल्लेख गर्नुभयाे ।
कार्यक्रममा लेखक छवि वैरागी घिमिरेले उपन्यास लेखनको पृष्ठभूमि र उद्देश्यबारे आफ्ना धारणा राख्दै विविशारा सहर केन्द्रित समाजको संवेदनात्मक अभिलेख भएको बताउनुभयाे । “यो उपन्यास कुनै एक पात्रको कथा मात्र होइन, अहिलेको समय र समाजको साझा मनोविज्ञान हो,” उहाँले भन्नुभयाे ।
साथै, उहाँल चितवनका पाठकमाझ आएर उपन्यासको विमर्श गर्न पाउँदा खुसी लागेको बताए । फिनिक्स बुक्सले प्रकाशन गरेको उपन्यास विविशारा अहिले पाठकको मन जितिरहेको छ। यस पुस्तकको मूल्य ५९९ रुपैया रहेको छ ।
