April 30, 2026

‘मानसिक स्वास्थ्य समस्या होइन, खुलेर कुराकानी गरौँ’

0
काठमाडौँ,
 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले मानसिक स्वास्थ्य समस्या कुनै कमजोरी होइन, यो शारीरिक रोगजस्तै उपचारयोग्य अवस्था रहेको बताउनुभएको छ ।
सरकारले सञ्चालन गरिरहेको ‘मानसिक स्वास्थ्य सचेतना अभियान’को सन्दर्भमा आज एक भिडियो सन्देश जारी गर्दै उहाँले पूर्णरूपमा स्वस्थ्य र आरोग्य जीवनका लागि शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्य पनि त्यत्तिकै महत्त्वपूर्ण रहेको बताउनुभयो ।
मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिप्रति भेदभाव नगर्न र आफ्ना परिवारको मानसिक स्वास्थ्यको ख्याल गर्न उहाँले आग्रह गर्नुभयो । सचिव डा देवकोटाले भन्नुभयो, “यस अभियानलाई सफल बनाउन तीनै तहका सरकारलगायत सम्बन्धित सरोकारवाला निकाय सबैबाट सकृय सहभागिताको अत्यन्त आवश्यक छ । यो अभियानमा सबैले खुलेर कुरा गर्न, एक अर्कालाई सुन्न र सकृय सहभागिताकालागि आह्वान गर्दछु ।”
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत मङ्सिर २४ देखि आगामी फागुन ३० सम्म ‘स्वास्थ्य मन, स्वास्थ्य जीवन–मनको कुरा गरौँ’ भन्ने नारासहित मानसिक स्वस्थ्य सचेतना अभियान सञ्चालन गरिरहेको छ । यस अभियानको उद्देश्य मानसिक स्वास्थ्य सेवालाई प्राथमिक स्वास्थ्य सेवासँग एकीकृत गर्दै सबै नागरिकको पहुँचमा यो सेवा पु¥याउनु र खुल्ला संवादको संस्कृतिलाई प्रोत्साहन गर्नु हो ।
मन्त्रालयकाअनुसार नेपालमा आज पनि १० मध्ये एक जना कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट बाँचिरहेका छन् भने दैनिक सरदर १९ जनाले आत्महत्याका कारण ज्यान गुमाउने पर्ने अवस्था छ । तनाव वा पीडाको अवस्थामा मनका कुरा विश्वासिलो व्यक्ति परिवारजन र सहकर्मीसँग साट्न र आवश्यक परे स्वास्थ्यकर्मी वा चिकित्सकको सहयोग लिन कहिल्यै नहिच्किचाउन मन्त्रालयले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *