April 29, 2026

बिर्तामोडमा बुट्टाबारी–प्याकुरेल चोक सडक स्तरोन्नति ८३ प्रतिशत पूरा

0

बिर्तामोड, बिर्तामोड नगरपालिकामा बुट्टाबारी–प्याकुरेल चोक सडक स्तरोन्नति कार्य तीव्रगतिमा अघि बढ्दै ८३ प्रतिशत पुरा भएको छ। वडा ६, ७ र ८ लाई जोड्ने महत्वपुर्ण योजना मानिएको यो सडकको निर्माणले अब अन्तिम चरणमा प्रवेश गरेको नगरपालिकाले जनाएको छ।

नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र तथा वरिष्ठ योजना अधिकृत जय तिम्सिनासहितको प्राविधिक टोलीले आइतबार साइट निरीक्षण गर्दै निर्माणको प्रगति मूल्यांकन गरेको हो।

अनुगमन क्रममा नगर प्रमुख प्रसाईले ठेकेदारलाई समयसीमाभित्र काम सक्न निर्देशन दिँदै “गुणस्तरमा कुनै सम्झौता नहोस्, निर्माणले दीर्घकालीन उपयोगिता दिनुपर्छ” भन्ने धारणा राखिन्।

उपप्रमुख संग्रौलाले तीन वर्षदेखि जारी काम अब अंतिम टप्पामा पुगेको उल्लेख गर्दै अस्फाल्ट प्रविधिबाट निर्माण भइरहेको सडकमा कालोपत्रेसँगै फुटपाथ निर्माण, पेभर बिछ्याउने, विद्युत पोल सार्ने, सडकबत्ती जडान र स्थानीयका मागअनुसार ट्रान्सफर्मर स्थानान्तरणजस्ता काम समानान्तर रूपमा अघि बढिरहेको बताए।

प्रमुख प्रशासकीय अधिकृत मिश्रका अनुसार सडक निर्माण द्रुत गतिमा अगाडि बढिरहेको छ। “दुई महिनाभित्र सम्पूर्ण काम सकिनेछ,” उनले भने। उनका अनुसार हालसम्म ३ किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने थप १ हजार २ सय मिटर एक साताभित्र, बाँकी भाग दुई साताभित्र कालोपत्रे हुने छ।

विश्व बैंकको करिब ६४ करोड रुपैयाँको लगानीमा १२.५ मिटर चौडाइ र २.२ मिटर फुटपाथसहित ६.२ किलोमिटर लामो यो सडक आरपी साप समता जेभीले निर्माण गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *