April 30, 2026

अग्रजको सम्मान गर्दै ‘कोसी साहित्य–कला परिषद् नेपाल’ को पहिलो सार्वजनिकीकरण कार्यक्रम सम्पन्न

0

सुन्दरहरैचा( मोरङ),

‘कोसी साहित्य–कला परिषद् नेपाल’ ले बेलबारीका ऐतिहासिक, सामाजिक तथा साहित्यिक व्यक्तित्व, ‘साहित्यकार पुण्यप्रसाद सुवेदीको जीवनी, व्यक्तित्व तथा कृतित्वमाथिको विमर्श’ गर्दै आफ्नो पहिलो सार्वजनिक कार्यक्रम सम्पन्न गरेको छ । बेलबारी बहुमुखी क्याम्पस, बेलबारी, मोरङको सभाहलमा एक विशेष कार्यक्रमको आयोजना गरेर संस्थाले आफूलाई औपचारिक रूपमा सार्वजनिक गरेको हो ।

वरिष्ठ साहित्यकार, उपद्रष्टा, हर्कमान तामाङ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, वरिष्ठ साहित्यकार केशव आचार्य, समीक्षक डा. दीपकप्रसाद न्यौपाने, कवि समीक्षक मिश्र बैजयन्ती, भाषाविद् अमृतप्रसाद आचार्य, सुकुना बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई, नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, छन्दवाटिका नेपाल, विराटनगरका अध्यक्ष हरि कट्टेल, झोराहाट नाट्य समूहका अध्यक्ष भरत बर्बरिक, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवाल, मिक्लाजुङ साहित्य समाजका अध्यक्ष इन्द्रप्रसाद घिमिरे, बेलबारी प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष रेखा सुवेदीलगायतका साहित्यिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उमानाथ भट्टराई ‘अचल’, हरिप्रसाद दाहाल, सोमप्रसाद भट्टराई, प्रकाशनारायण चौधरी, रमेन्द्र कोइराला, धनजित पराजुली, भवानीप्रसाद पोखरेल, तिला लेकाली, निरज कोइराला, कृष्ण उदाशी, रामप्रसाद खरेल, बादलदेवी चाम्लिङ, पार्वती बराल, दुर्गा पराजुली, सञ्जीव धिमाल, टेकराज एक्चाइ मगर, शिव छाङ्छा राई, प्रेमबहादुर गुरुङ, सेरबहादुर खपाङ्गी मगर, रुद्र भण्डारी धुलो, खेमचन्द्र भण्डारी, नवीन थापा क्षेत्री, युवराज ठकुरी, शैलेन घिमिरे, मञ्जु घिमिरे दाहाल, प्रकाश भट्टराई, टीकालाल धिमाल, यादव भट्टराई, सुन्दर भट्ट, खेम आचार्य, देवराज ढकाल, जुनु बुढाथोकी, एकराज भट्टराई, सुजता राईलगायतका स्रष्टा\कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा डा. दीपकप्रसाद न्यौपाने र मिश्र बैजयन्तीले पुण्यप्रसाद सुवेदीको जीवनी, व्यक्तित्व र कृतित्वमाथिको विमर्श गरेका थिए । न्यौपानेले सुवेदीको काव्यकारितामा मिश्रले आख्यानकारितामा आधारित भएर बोलेका थिए । त्यस्तै पुण्यप्रसादका समकालीनसमेत रहेका वरिष्ठ साहित्यकार हर्कमान तामाङले उनीसँग जोडिएका कुराहरू बताएका थिए । वक्ताहरूले गहिराइसम्म पुगेर उनको जीवनी, व्यक्तित्व तथा कृतित्वका विभिन्न पाटका बारेमा बोलेका थिए ।

त्यस्तै कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, वरिष्ठ साहित्यकार केशव आचार्य, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, परिवारका तर्फबाट पुण्यप्रसादका भाइ श्रषिकेश सुवेदी र छोरा परसुराम सुवेदी आदिले संस्थाले सुरु गरेको अभियान तथा पुण्यप्रसादका विषयमा आआफ्ना धारण व्यक्त गरेका थिए । कार्यक्रममा पुण्यप्रसाद सुवेदी र उनीसँग जोडिएर आजसम्म गरिएका कार्यका बारेमा उठेका प्रश्नलाई विभिन्न कोणबाट उत्तर खोज्ने प्रयास गरिएको थियो ।

कार्यक्रममा स्रष्टाहरू रेखा सुवेदी, हरि कट्टेल, कृष्ण उदासी र युवराज ठकुरीले पुण्यप्रसाद सुवेदीका कवितावाचन गरेका थिए भने सप्तक कला केन्द्र सलकपुर, मोरङका कलाकारले पुण्यप्रसाद सुवेदीका कालजयी गीतहरू गाएका थिए । संस्थाका अध्यक्ष केशु विरहीले संस्थाको गतिविधि तथा आगामी कार्यक्रमका बारेमा प्रस्ट पारेका थिए । संस्थाको स्थापना र त्यसपछि सञ्चालन गरिएका कार्यक्रमका बारेमा प्रस्ट पार्दै विरहीले आफूहरूले नयाँ तर साहित्यमा केही राम्रो गरौँ भनेर नै यस संस्थाको स्थापना गरेको बताए ।

निकै छलफल तथा विमर्शपछि मात्र संस्थाको स्थापना गरिएको बताउँदै विरहीले अग्रजको सम्मान तथा युवापुस्तामा अभिप्रेरणा, क्षमता र योगदानका आधारमा मूल्याङ्कन, साहित्यमा थिति बसाउने प्रयास, संस्थालाई साझा चौतारीका रूपमा विकास, साहित्य कला–ग्रामको अवधारणा, साहित्यको बजारीकरण तथा अन्तर्राष्ट्रियकरण आदि कार्यहरू गर्ने प्रतिबद्धता व्यक्त गरे ।

लेखक तथा अनुसन्धातासमेत रहेको विरहीले आफूहरू मञ्चलाई कार्यक्रम स्थलका रूपमा मात्र विकास गर्ने, खादा मालाको प्रयोग नगर्ने, गर्नुपरेमा सम्मानका लागि मात्र गर्ने, बौद्धिक श्रमको न्यूनतम भए पनि पारिश्रमिकको सुरुआत गर्ने, नयाँ पुस्तालाई प्राथमिकतामा राखेर कार्य गर्ने बताए ।

उपाध्यक्ष विष्णु भण्डारी आचार्यले कार्यक्रममा उपस्थित सबैलाई शब्दले स्वागत गरेकी थिइन् । ‘कोसी साहित्य–कला परिषद् नेपाल’ का अध्यक्ष केशु विरहीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने सचिव नवराज पोखरेल ‘नवशिला’ को रहेको थियो ।

एक करोडको अक्षयकोष खडा गर्ने

आवश्यक कोषका अभावमा संस्थाहरू स्थापना भएको केही सालमै बन्द हुने परिपाटी बढ्दो रहेको छ । तर संस्थाले एउटा स्थायी कोषको अवधारणा अघि सारेको छ ।

उक्त औपचारिक सार्वजननिकीकरण कार्यक्रममा एक रुपैंयाबाट सुरु गरेर एक करोड बराबरको अक्षयकोष पुर्याउने अभियानको सुरुआतसमेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *