September 18, 2026

लेटरहेड दुरुपयोग प्रकरणः अभियानका पदाधिकारीको आपत्ति

0

झापा, राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियान नेपालको केन्द्रीय समितिको बैठक विना आफूहरुलाई पदमुक्त गरिएको भन्दै अभियानका केही पदाधिकारीले आपत्ति जनाएका छन् ।
झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै अभियानका संगठन विभाग प्रमुख प्रेम थापा र सचिव प्रेमदिप थाम्सुहाङ लिम्बूले केन्द्रीय समिति बैठकको निर्णयबिना सामाजिक सञ्जालमार्फत जारी गरेको पत्रप्रति गम्भीर असन्तोष प्रकट गरेका हुन्।
गत मंसीर ९ गते प्रकाशित उक्त पत्रमार्फत युवा विद्यार्थी तथा खेलकुद विभाग प्रमुख विष्णुजंग बस्नेत, नागरिक प्रतिरक्षा बल नेपालका सह–संयोजक गोपाल बोहोरा, मेची अञ्चल सह–संयोजक प्रकाशचन्द्र उप्रेती, र केन्द्रीय सचिवालय सदस्य ओमप्रकाश लुइटेलमाथि विभिन्न आरोप लगाउँदै निस्कासन र पदमुक्त गरिएको थियो ।
तर, उनीहरुले आज बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै उनीहरुले उक्र आरोप आधारहीन, एकपक्षीय र चरित्रहत्या गर्ने प्रकृतिका भएको दाबी गरेका छन्।
अभियानको विधानअनुसार कुनै पनि आन्तरिक कारबाही अघि बढाउँदा सुनुवाइ, स्पष्टीकरण र केन्द्रीय निर्णय अनिवार्य रहने भन्दै उनीहरूले प्रकाशित पत्र पूर्णतः विधि–विपरीत र संगठन–विपरीत रहेको बताए।
उनीहरूले सामाजिक सञ्जालमार्फत अभियानको नाम, लेटरहेड र फोटो प्रयोग गरी असत्य एवं भ्रमपूर्ण सूचना प्रवाह गरिएको भन्दै यसको आपत्ति जनाएका छन्। यस्ता गतिविधिले संगठनको प्रतिष्ठा, संरचना र एकता कमजोर पार्ने चेतावनीसमेत उनीहरूले दिएका छन्।
उनीहरुद्वारा जारी विज्ञप्तिमा तत्काल गल्ती स्वीकार गरी संगठनभित्र आवश्यक समन्वय र स्पष्टीकरण दिनुपर्ने माग गरेका छन् । अन्यथा, पदको दुरुपयोग गरी अन्तरविरोध सिर्जना गर्ने व्यक्तिमाथि नियमअनुसार कारबाही गर्नुपर्ने मागसमेत गरेका छन्।
विज्ञप्तिमा शेर बहादुर थापा (केन्द्रीय सदस्य), माधव कल्पित, हरि सिटौला (केन्द्रीय सदस्य), प्रकाश चन्द्र उप्रेती (केन्द्रीय सदस्य), ओम प्रकाश लुइटेल (केन्द्रीय सदस्य), दिपेश प्रसाई (केन्द्रीय सदस्य), उमाकान्त अधिकारी (केन्द्रीय सदस्य), डिआर कडरिया (केन्द्रीय सदस्य), रामचन्द्र मैनाली (स्थानिय, झापा जिल्ला अध्यक्ष), राजेश राजवंशी (झापा जिल्ला अध्यक्ष), राम कुमार नेपाल (झापा जिल्ला वरिष्ठ उपाध्यक्ष), कमल कर्माचार्य (उपाध्यक्ष, झापा) र लक्ष्मी राजवंशी (उपाध्यक्ष, झापा)को नाम उल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *