June 15, 2026

अर्जुनधारामा प्याब्सनको वृहत वार्षिक खेलकुद कार्यक्रम–२०८२ सम्पन्न

0

अर्जुनधारा ,  निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) झापाको आयोजनामा र प्याब्सन अर्जुनधाराको समन्वयमा गत कात्तिक २४ गतेदेखि सञ्चालन भइरहेको वृहत वार्षिक खेलकुद कार्यक्रम–२०८२ शुक्रबार सम्पन्न भएको छ।

अर्जुनधारा नगरपालिका–३ स्थित कैदले पर्यटकीय खेलमैदानमा आयोजित समापन तथा पुरस्कार वितरण कार्यक्रममा विभिन्न विद्यालयका विजेता खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। 
कार्यक्रममा ३६ विद्यालयका पाँच हजारभन्दा बढी विद्यार्थीले क्रिकेट, फुटबल, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, उसु, टेबलटेनिस, चेस र एथलेटिक्सका कुल ९२ खेल विधामा प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा क्रिकेटतर्फ नवनित एकाडेमी प्रथम, स्वस्तिका शिशु सदन द्वितीय र सूर्यज्योति अंग्रेजी आवासीय विद्यालय तृतीय भएका छन्।
आधारभूत फुटबलतर्फ रुपरत्न मेमोरियल अंग्रेजी आवासीय विद्यालय प्रथम, ब्रीलियन्ट पिपुल्स माध्यमिक विद्यालय द्वितीय र देवी पाथीभरा अंग्रेजी विद्यालय तृतीय बने।

त्यसैगरी पुरुष भलिबलतर्फ रुपरत्न मेमोरियल अंग्रेजी आवासीय विद्यालय प्रथम, सूर्यज्योति अंग्रेजी आवासीय विद्यालय द्वितीय र कालिका शिशु सदन तृतीय भएका छन्।
महिला भलिबलतर्फ पनि रुपरत्न मेमोरियल अंग्रेजी आवासीय विद्यालयले पहिलो स्थान हासिल गर्दै स्वस्तिका शिशु सदनलाई पछाडि पार्‍यो। तृतीय स्थान प्रगति अंग्रेजी माध्यमिक विद्यालयले हात पार्‍यो।

पुरुष कबड्डीतर्फ ब्लू हेभन एजुकेशन फाउण्डेशन अंग्रेजी विद्यालय प्रथम, ब्राइटर अंग्रेजी विद्यालय द्वितीय र कालिका शिशु सदन तृतीय बने।
महिला कबड्डीतर्फ रुपरत्न मेमोरियल अंग्रेजी आवासीय विद्यालयले पहिलो स्थान ल्यायो भने ब्रीलियन्ट पिपुल्स माध्यमिक विद्यालय द्वितीय र ब्राइटर अंग्रेजी विद्यालय तृतीय भए।

प्याब्सन अर्जुनधाराका अध्यक्ष बालगोपाल गौतमको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख तथा प्रमुख अतिथि बलदेवसिंह गोम्देन तामाङ, वडाध्यक्ष उपेन्द्र बस्नेत र गीताराज खड्का, अर्जुनधारा नगरपालिका शिक्षा शाखाका प्रमुख हरिबहादुर कवर, प्याब्सन झापाका सदस्य सुमन शर्मा जम्मरकट्टेल, तथा प्याब्सन अर्जुनधाराका पूर्व अध्यक्ष रुद्र सिटौलालगायतले विजेतालाई पुरस्कार वितरण गरे।

कार्यक्रममा कोषाध्यक्ष राजन वाग्लेले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन सचिव ताराप्रसाद नेपालले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *