September 15, 2026

कल्पतरु द्वैमासिक पठनीय प्रकाशन

0

नेपाली भाषा साहित्यको सेवामा थुप्रै पत्रपत्रिकाहरु प्रकाशन भईआएका पाइन्छन् । यसै मेसोमा कल्पतरु द्वैमासिक पनि एक रहेको छ । यो पत्रिका २३ वर्षअघि शुरु भएको पाइन्छ । यस अंक वर्ष २३ पूर्णाङ्क ११० रहेको छ । जसमा कविता, गीत, गजल, मुक्तक, कथा, लेख निबन्ध, संस्मरण, नियात्रा लगायतका साहित्यिक सामग्रीहरु समेटिएका छन् ।

यस अंकमा विजय चालिसेले दुई उपन्यासको समीक्षा गरेका छन् । सुकदेव उपाध्यायको ‘भर्चुअल लभ’ नामक उपन्यासको सार खिच्दै चालिसेले यसरी उल्लेख गरेका छन्– भर्चुअल लभ पचासौं वैवाहिक समारोह मनाउँदै गर्दा आएको पूर्व प्रेमीकाको फोनले ताजा गराइदिएको पूर्व स्मृतिले ताजा बनाइदिन्छ । विभिन्न परिबन्दले गर्दा वैवाहिक अवस्थासम्म नपुग्दै विफल भए पनि दुबैको मनबाट नमेटिएको प्रेम र भौतिक सम्बन्धलाई लिएर लेखिएको यो भर्चुअल शिर्षकको उपन्यास प्रेम अमर छ र यो शारीरिक निकटता र सम्बन्ध बिना पनि सधैँ जीवत रहिरहन्छ भन्ने सन्देश दिन सफल छ ।

अर्को उपन्यास ‘पर्दाभित्र’को सार यसप्रकार छ– मानिसको चरित्र बडो जटिल हुन्छ, धेरै मानिसमा बाहिर देखे जस्तो जीवन र चरित्रको लय मिल्दैन । बाहिर असाध्यै सुन्दर देखिने कतिपय अनुहार छोप्ने मुकुण्डो उतार्ने हो भने त्यसभित्र त्यत्तिकै कुरुप र घिनलाग्दो रुप देखिन सक्छ । आज समाजले आदर्श ठानेको मानिसहरु समेत अख्तियार उल्लंघन जस्ता ठूला अपराधहरुमा जेलमा अँध्यारा कोठा कुरिरहेका र अरु धेरै कुर्ने तरखरमा रहेको प्रष्टै देखिँदैछ । यस्तै बाहिर हेर्दा सुन्दर लाग्ने दागदार कुरुपताको पर्दा खोल्ने उपन्यास हो– गङ्गाप्रसाद भेटवालको पर्दाभित्र ।

रञ्जना पराजुली लम्सालको लघुकथाले आमाबाबु नै तीर्थधाम हुन् भन्ने सन्देश दिएको । नरेन्द्रराज पौडेलको गिठ्ठाभ्याकुर भेरियन्ट शीर्षकको कथामा कोरोनाकालको मेलम्ची क्षेत्रका गतिबिधिबारे समेटिएका छन् र खानेकुराको अभावमा भोकै परेका मानिसहरु आखिर जंगलका गिट्ठाभ्याकुर खाएर भोक शान्त गरेका कथा लेखिएका छन् । अञ्जु शर्माको हजुरआमा र क्वारेन्टाइन शीर्षकको कथामा पनि कोरोना कालकै कथा लेखिएका छ । कोरोना कालमा घरमै सबै कुँजिनु परेको, आधुनिक उपकरणको प्रयोगले स्वार्थी, कपटी र एक्लो बनाएको छ, यही विज्ञानको दुरुपयोगकै कारण नयाँ भाइरसले आतंकित बनाएको छ, ज्येष्ठ उमेरमा पुगेपछि र विधवा भएपछि जीवन एक्लो हुन्छ, छोराछोरीका आ–आफ्नै व्यवहार हुन्छन् कुराकानी गर्ने मान्छे हुन्न आदि भाव यस कथामा पोखिएका छन् । प्रदीप सापकोटाको भाउको भग्न कहानी निबन्धमा, अनेक बहानाको बेलिबिस्तार लगाउँदै व्याबसायी सामानको भाउ घटाउन नसकिने बताउँछ र ग्राहकलाई गलाउन खोज्छ । कसैले नकिने पनि विदेश जाने युवाहरुले किन्ने दलिल पेश गर्छन् व्यापारी । यस कथामा ब्यापारीको ग्राहक मनाउने सिप दर्शाइएको छ । अनि जाबो एउटा ज्याकेट किन्न नसक्ने ग्राहकको कथा छ । सामानको भाउ बढ्ने तर ग्राहकको भाउ घटिरहने भाव यस कथामा छ ।
पुस्तक वार्तामा, युवराज भण्डारीका सिर्जनाहरु अर्को कर्णाली कविता संग्रह र भावनाको तस्वीर गजल संग्रहकाबारे डा.ऋषि वस्ताकोटीले भण्डारीसँग गरेका कुराकानीका सार प्रस्तुत गरिएको छ ।

कुराकानीमा, अर्को कर्णाली, कृतिबारेको प्रसंगमा नआए पनि भावनाको तस्वीर गजल संग्रहमा परदेशमा बसेर देशलाई सम्झने र देशमै बसेर देशसँग बाँच्ने अनुभूति पाइन्छ, उल्लेख गरिएको छ । सो गजल संग्रहमा स्रष्टा भण्डारीले पूर्ण, आंशिक, एकाक्षरी, मिलित, मिश्रित काफिया प्रयोग भएका गैरमुसलसल र मुसलसल गजलहरु समावेश भएका, काफिया, रदिफ, लय र गजलका अन्य सिद्धान्तभित्र रहेर गजल लेखनमा पृथकता दिने प्रयोग गरिएको उल्लेख छ ।

मृत मुस्ताङी घोडाको सम्झना शिर्षकको विष्णुप्रसाद शर्मा पराजुलीको नियात्रामा अमेरिकाको कोलोराडो नदी आसपासको निकुन्ज र अन्य मनमोहक स्थानहरुकोबारे वर्णन गरिएको छ । त्यहाँका पर्यटकीय स्थानमा घुम्नका लागि अग्रिम अनलाईन बुकिङ गर्नुपर्ने रहेछ । नियात्राकारले अमेरिकाको पर्यटकीय ठाउँको भौगोलिक बनोट मृस्ताङी घोडा जस्तै आकारका भएकाले मुस्ताङी घोडा लेखेका हुन सक्छन् । अमेरिकीहरुमा एकअर्काबीच भेटिँदा र छुटिँदा हाइहेल्लो गर्ने अभिवादन दर्शाउने कल्चर निकै राम्रो भएको नियात्राकार पराजुलीले लेखेका छन् र नेपालमा त्यस्तो शैली देख्न र पाउन मुस्किल हुने लेखेका छन् । नियात्रामा कोलोराडो नदी आसपासका अन्य दृष्यहरुबारे धेरै रोचक प्रसंगहरु समेटिएका छन् ।

महिलाले हाँगा काट्छिन् पुरुषले रुख शीर्षकको विश्व कुइँकेलको लेखमा महिला र पुरुषको मन, क्षमता आदिबारे चर्चा गरिएको छ । जस्तैः कसैले तरकारी खान सजिवन मागेमा महिलाले सजिवनका दाना कोट्याएर दिन्छिन्, तर पुरुषले सिंगै हाँगा नै दिन्छन्, महिलाले खेतमा काम गर्न कुटो लिएर जान्छिन्, तर पुरुषले भने कोदालो नै लिएर जान्छन् लेखिएको छ । लेखकले महिला र पुरुषको मनोविज्ञान र स्वभाव उजागर गरेका छन् । लेखमा समावेशिताबारे पनि लेखिएका छन् । यस लेखमा पर्यासाहित्यबारे लेखिएका छन् । अब हिमाल पग्लेको लेखौं, पर्याचक्र बिग्रिएको लेखौं, वातावरणसँग जोडिएका सम्पदा मासिएको लेखौं, कार्बन फुटप्रिन्टलाई पछ्याउँदै लेखौं भनिएको छ । पर्यावरण संरक्षण गर्नुपर्ने भाव यस लेखमा पाइन्छ ।

कल्पतरुको यस अंकमा अंशु भट्टको करेलिएको यथार्थ शीर्षकको कथा, विनोद नेपालको किलोमा केरा शीर्षकको भारत यात्राको नियात्रा, उषा शर्माको वय भय र सयको समागम शीर्षकको समीक्षा, शारदा पराजुलीको डायरीका पाना पल्टाउँदा संस्मरण, रत्न प्रजापतिको एकादेशको शीर्षकमा लघुकथा प्रकाशन भएका छन् । त्यस्तैगरी यस अंकमा काव्य विधाका रचनाहरु २६ वटा प्रकाशन भएका छन् । टुक्का कविता शीर्षकको अरुणकुमार भुजेलको टुक्कामा चाडपर्वको नाममा पशुपंक्षीको हत्या नगरौं, आफूभित्रको अहंकारी पशुत्व मार्न अघि सरौं लगायत भावहरु व्यक्त भएका छन् । धु्रवनारायण जोन्छेँको कवितामा हाँसी–हाँसी बाँच्न पनि रोइ दिनुपर्ने, आफ्नो मुटुलाई पनि सुस्तरी छोइ दिनुपर्ने भाव पोखिएका छन् । लक्ष्मी स्मृतिको गजलमा समय कहिल्यै भाग्यसँग जुर्दै आएन, गरोस् यसले भन्दै मौका कुर्दैै आएन भाव व्यक्त भएका छन् । महेशराज खरेलको कविताले नयाँ सन्देश प्रवाह गर्दछ जस्तैः मानिस आफ्ना पुर्खाका जरा टेकेर आफ्नो वर्तमानको डाँठमा अडेर भविष्यका सन्तति फलाउन चाहन्छ हाँगा–हाँगामा ।

शारदा गौतम आचार्य दीप्ताको शिखर, सानुराजा श्रेष्ठ अन्जानको छलछाम, सुनिता अधिकारीको तपस्यामा छु म अहिले, मात्रिका घिमिरेको मिर्मिरे, कल्पना पौडेल जिज्ञासुको विभेद, ओम आचार्यको कुशासन, विष्णुदेवी तिवारी उषाको विषाक्त फूलहरु, नीरा श्रेष्ठको रामेको सपना, देवेन्द्र खरेल (पुपस), प्रसिद्धि तिमल्सिनाको मेरो नेपाल, श्याम पौडेलको आमा तिम्रो परिचय के हो ?, टंक सिटौलाको आमा म स्कुल जान्न अब, डा.मोहन उपाध्याय ढकालको सद्भाव, कृष्णप्रसाद गुरागाईको दशैँ, आकाश अधिकारीको यथार्थमा शीर्षकका कविताहरु र निलहरि काफ्ले, भूपाल अधिकारीका गजलहरु, वेणु अधिकारीको दुई मुक्तकहरुले काव्यीक माध्यमबाट समाज र देशलाई सकारात्मक सन्देश दिएका छन् । यस पत्रिकाको कभरको भित्री पृष्टहरुमा पत्रिकाका आजीवन सदस्यहरुका नामावली प्रकाशन भएका छन् ।

गोकर्णेश्वर नगरपालिका ठेगाना रहेको यस कल्पतरु पत्रिकाको रंगीन बान्कीको यस अंक निकै ज्ञानबर्धक र रोचक रहेको पाइन्छ । छापा पत्रिका निकाल्न निकै खर्चिलो पर्ने परिस्थितिमा पनि कल्पतरुले दुई–दुई महिनामा म्यागजिन आकारको पत्रिका प्रकाशन गरी नेपाली भाषा साहित्यको उन्नयन गर्नु तथा पाठकवर्गलाई बिबिध विषयमा ज्ञान तथा जानकारी पस्कनु महान कार्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *