सजिलो साकोसको १८औं सभा
बिर्तामोड ।

बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको सजिलो बचत तथा ऋण सहकारी संस्थाको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष काशीनाथ घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि ८७ वर्षीय ज्येष्ठ नागरिक तथा सेयर सदस्य चन्द्रप्रसाद बरालले उद्घाटन गरेका थिए ।
शेयर सदस्यको करोडौं रुपैयाँको पुँजीलाई सहज र सही तरिकाले परिचालन गर्न सक्षम भएको संस्थाले वित्तीय समावेशीकरणलाई आत्मसात गर्दै महिला गरिब र वञ्चित वर्गलाई बचत तथा ऋण कार्यक्रममा सहभागी गराउँदै उनीहरुलाई आत्मनिर्भर बनाउन विभिन्न योजना सञ्चालन गरेको जनाइएको छ ।
कार्यक्रममा संस्थाकी व्यवस्थापक तारा निरौला ढकाल, मेची सहकारी संस्थाका संयोजक शिक्षासेवी उत्तम खनाल, झापा जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष उपेन्द्र ओली, झापा जिल्ला बचत सङ्घका संयोजक युवराज गौतमले शुभकामना मन्तव्य राखेको कार्यक्रममा गङ्गाराम ढकाल, डुका अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा शेयर सदस्यका सन्ततिहरु २०८१ सालको एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने अनमोल श्रीवास्तव ३.८० जीपिए र सृष्टि अधिकारी ३.९६ जीपिए ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट ऋणीतर्फ बिनुकला गुरुङ, उत्कृष्ट बचततर्फ कोपिला घिमिरे, उत्कृष्ट बाल बचततर्फ अंशु दाहाल, उत्कृष्ट कर्मचारीतर्फ निशा तिम्सिना अधिकारी समेत सम्मानित भएका थिए ।
संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत ८८ जना बाल बचतकर्तालाई जन्मदिनको अवसरमा बचत रकमको एक प्रतिशत रकम प्रदान गर्दै संस्थाको लोगो अङ्कित शैक्षिक सामग्री प्रदान गरिएको थियो ।
संस्थाका अध्यक्ष घिमिरेले आव २०८१÷०८२ को कार्यसम्पादन विवरण प्रस्तुत गरेका थिए । जसअनुसार एक हजार दुई सय ९९ शेयर सदस्य, एक करोड ५२ लाख ६५ हजार तीन सय शेयर रकम, छ करोड ६० लाख ३७ हजार दुई सय ७५ रूपैयाँ कर्जा, पाँच करोड ५९ लाख ५६ हजार चार सय ९९ रुपैयाँ बचत तथा जम्मा आम्दानी १० करोड ५२ लाख चार हजार पाँच सय ७० रुपैयाँ रहेको जनाइएको छ ।
संस्थाकी सेयर सदस्य गीता खनालले स्वागत गरेको कार्यक्रमको सहजीकरण संस्थाका उपाध्यक्ष गोपालप्रसाद अधिकारीले गरेका थिए ।
